भक्तपुरबाट इन्सास राइफलसहित एक पक्राउ, आन्दोलनमा लुटिएको हतियार आशंका

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ भुम्डोलबाट सशस्त्र प्रहरीले इन्सास राइफलसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। फागुन १९ गते विशेष अभियानका क्रममा पक्राउ परेका उनीसँगै विभिन्न प्रकारका गोली तथा घरेलु हतियार समेत बरामद गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले गोरखा जिल्ला पालुङटार नगरपालिका–९ घर भई हाल भक्तपुरको भुम्डोलमा डेरा गरी बस्ने ३१ वर्षीय आयन सेढाईंलाई उनकै कोठाबाट पक्राउ गरेको हो। उनको साथबाट इन्सास राइफल, एसएलआरका ४ वटा गोली, प्लास्टिक राउन्ड २ वटा, सर्टगनमा लाग्ने राउन्ड १ वटा, खुकुरी एक थान, दाप २ थान, बन्चरो १ र सिरिन्ज ५ वटा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको राइफल र गोलीहरू गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएको हुनसक्ने आशंका गरिएको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले उक्त हतियार र गोलीहरूको उद्गमबारे अनुसन्धान भइरहेको बताउँदै आन्दोलनकै समयमा लुटिएका हतियार हुनसक्ने आशंका व्यक्त गरे।

पक्राउ परेका सेढाईंलाई आवश्यक कारबाही र अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको छ। प्रहरीले उनीविरुद्ध हतियार तथा खरखजना सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको र बरामद हतियारहरूको हुलिया तथा प्रयोगबारे विस्तृत विवरण संकलन गरिरहेको प्रहरी अधिकारीहरूले बताएका छन्। यस घटनाले भक्तपुर क्षेत्रमा भने केही समयका लागि त्रासको माहोल सिर्जना गरेको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button