रियादस्थित अमेरिकी दूतावासमा ड्रोन हमला, इरानको जवाफी कारबाहीको आशंका

रियाद – साउदी अरबको राजधानी रियादस्थित अमेरिकी दूतावासमा ड्रोन हमला भएको छ। साउदी अरबको रक्षा मन्त्रालयले उक्त हमलाको पुष्टि गर्दै दूतावासको भवनमा हल्का क्षति पुगेको जनाएको छ।

अमेरिकी दूतावासले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै हमलाबाट सानो परिमाणमा आगो लागेको र भवनमा थोरै क्षति भएको उल्लेख गरेको छ। हमलापछि दूतावास प्रशासनले जेद्दा, रियाद र धहरानमा रहेका अमेरिकी नागरिकहरूलाई घरभित्रै सुरक्षित रहन निर्देशन दिएको छ।

यसअघि सोमबार कुवेतमा रहेको अमेरिकी दूतावास क्षेत्रमा समेत धुवाँ देखिएको थियो, जसपछि त्यहाँको दूतावासले आफ्ना नागरिकहरूलाई दूतावास नआउन र आ-आफ्नै घरमा सुरक्षित रहन आग्रह गरेको थियो।

यी हमलाहरू यस्तो समयमा भएका हुन् जब शनिबार अमेरिका र इजरायलले इरानमा आक्रमण गरेका थिए। उक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतुल्लाह अलि खामेनेई मारिएका थिए। त्यसपछि इरानले जवाफी कारबाहीको घोषणा गरेको थियो।

इरानले विशेषगरी खाडी मुलुकहरूमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गर्दै मिसाइल प्रहार गरिरहेको बताइएको छ। रियादस्थित अमेरिकी दूतावासमा भएको यो ड्रोन हमला पनि इरानको जवाफी कारबाहीको एउटा भाग हुनसक्ने आशंका गरिएको छ। यद्यपि, यस विषयमा आधिकारिक रूपमा केही खुलाइएको छैन।

क्षेत्रमा बढ्दो तनावका बीच अमेरिकी सरकारले आफ्ना नागरिकहरूको सुरक्षाप्रति सचेत रहन निर्देशन दिएको छ। साउदी अरबमा रहेका अमेरिकी नागरिकहरूलाई उच्च सतर्कता अपनाउन भनिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button