मतदानको अघिल्लो दिन पर्सा र सिरहाका उम्मेदवार पक्राउ

काठमाडौं / प्रतिनिधिसभा निर्वाचनको अन्तिम चरणमा आएर प्रहरीले पर्सा र सिरहामा दुई जना उम्मेदवारलाई पक्राउ गरेको छ। पर्सा क्षेत्र नम्बर २ का नेकपा उम्मेदवार मनोज चौधरी र सिरहा क्षेत्र नम्बर ३ का जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशेश्वर यादव मङ्गलबार प्रहरी नियन्त्रणमा परेका हुन्।

पर्सामा बडनिहार क्षेत्रमा प्रहरीले गरेको नियमित सुरक्षा जाँचका क्रममा उम्मेदवार चौधरी सवार गाडीमा शंकास्पद वस्तु भेटिएपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार चौधरीसहित चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ।

त्यस्तै, सिरहामा भने मौन अवधिको समयमा ठूलो रकमसहित हिँडेको अवस्थामा उम्मेदवार यादव पक्राउ परेका हुन्। सिरहा प्रहरीका अनुसार नेपाल–भारत सीमा क्षेत्र माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ च ०८७ नम्बरको स्कर्पियो गाडीमा सवार यादवलाई प्रहरीले चेकजाँचका क्रममा रोकेको थियो। गाडीभित्र चार लाख ८७ हजार रुपियाँ भेटिएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उम्मेदवार यादवसँगै गाडीमा सवार अन्य पाँच जनालाई पनि पक्राउ गरिएको छ।

दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीतका गतिविधिलाई कडाइका साथ हेर्ने चेतावनी दिँदै आएका बेला यी पक्राउले राजनीतिक वृत्तमा चर्चा पाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button