‘सिंहदरबार जलाइदिन्छु’ भन्ने नेता प्रधानमन्त्रीको लाइनमा : बालेनको विवादित विगत पुनः बहसमा

काठमाडौं – काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख एवं हाल झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन साहको सामाजिक सञ्जाल इतिहासले उनको विवादास्पद राजनीतिक चरित्रलाई उदांगो पारेको छ। सिंहदरबार जलाउनेदेखि रगतको खोला बगाउनेसम्मका अभिव्यक्ति दिएका उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट भावी प्रधानमन्त्रीको दौडमा छन्।

सन् २०१६ अप्रिल २१ मा बालेनले फेसबुकमा लेखेका थिए– ‘जब मनको प्यास मेटिँदैन, रगतको खोला बगाउनुपर्छ।’ यसभन्दा दुई वर्षअघि सन् २०१४ नोभेम्बर १६ मा उनले नेपाल प्रहरीप्रति आक्रोश पोख्दै लेखेका थिए– ‘नेपालका पुलिसको आचरण देखेर टेरेरिस्ट बन्न मन लागिरहेको छ।’ यी स्टाटसहरू हाल सामाजिक सञ्जालमा भाइरल भएपछि उनले ती डिलिट गरिसकेका छन्, तर स्क्रिनसटका रूपमा अझै सार्वजनिक भइरहेका छन्।

गत भदौमा उनले रास्वपासहित सबै प्रमुख दल र छिमेकी मुलुक चीन, भारत र अमेरिकालाई अश्लील शब्दसहित गाली गरेका थिए। भूराजनीतिक संवेदनशीलता भएको उक्त स्टाटस केही मिनेटमै भाइरल भएपछि उनले डिलिट गरेका थिए। यसैगरी, २०८० भदौ १६ मा आफ्नी श्रीमती चढेको सरकारी गाडी ट्राफिक प्रहरीले चेक गरेको रिसमा उनले फेसबुकमा लेखेका थिए– ‘आजका लागि केही भएन, भोलिदेखि हाम्रो महानगरपालिकाको गाडी रोकियो भने सिंहदरबार जलाइदिन्छु।’ यो स्टाटसको त्यतिबेला चर्को विवाद भएको थियो र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शीर्ष राजनीतिक तहमा यसबारे छलफल समेत गरेका थिए। तर, त्यसको ठीक दुई वर्षपछि गत भदौ २४ गते बालेनको समर्थनमा रहेको जेनजी प्रदर्शनका क्रममा सिंहदरबार जल्यो। उनीमाथि त्यसको मुख्य जिम्मेवार रहेको आरोप लागिरहेको छ।

बालेनको सामाजिक सञ्जाल अभिव्यक्तिले युवापुस्तामा हिंसाप्रति सकारात्मक सोच विकास गरेको र त्यसैको परिणामस्वरूप भदौ २४ को घटना निम्तिएको टिप्पणी हुन थालेको छ। गत पुस १२ गते उनी आफैंले कडा कटाक्ष गरेको रास्वपामा प्रवेश गरेका थिए र पार्टीले उनलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेको छ।

‘बालेन’ नामक पेज र ‘बालेन शाह’ नामक फेसबुक प्रोफाइल सक्रिय रहेका उनले प्रायः प्रोफाइलवाला आइडीबाट व्यक्तिगत कुरा पोस्ट गर्ने गरेको देखिन्छ। उनले डिलिट गरिसकेका स्टाटसहरूमा उनका नजिकका साथी भिक्टर पौडेलको लाइक, कमेन्ट र शेयर देखिन्छ। जेनजी आन्दोलनपछि अष्ट्रेलिया भागेका भिक्टर अहिले फर्केर बालेनको चुनावी अभियानमा सक्रिय छन्। भिक्टरको फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ ले बालेनका हरेक गतिविधिलाई प्राथमिकता दिने गरेको छ।

निर्वाचनको मौन अवधि सुरु भएको बेला बालेनको पुराना स्टाटसहरू भाइरल हुनुलाई परिणाम प्रभावित पार्न खोजिएको टिप्पणी पनि हुन थालेको छ। तर, सार्वजनिक पदमा रहेको र देशको प्रधानमन्त्री बन्ने दौडमा रहेको व्यक्तिका विगतका गतिविधि र अभिव्यक्तिप्रति जिज्ञासा राख्नु नागरिकको अधिकार भएको बताइन्छ। रवि लामिछाने सांसद र मन्त्री भएपछि मात्र सहकारी काण्ड बाहिर आएको उदाहरण दिँदै बालेनको हकमा पनि उनी सार्वजनिक दायरामा आएपछि विगतका कुरा खोतलिनु स्वाभाविक भएको टिप्पणी गरिएको छ।

बालेन आफैंले यसबारे स्पष्ट पार्नुपर्ने र यदि उनलाई बदनाम गर्न फेक आइडीबाट लेखिएको भए राज्यका सम्बद्ध निकायले छानबिन गर्नुपर्ने माग उठेको छ। नगरपिताको भूमिका निर्वाह गरिसकेको र भावी प्रधानमन्त्रीको दौडमा रहेको व्यक्तिको बारेमा उठेका प्रश्न र आशंकालाई स्पष्ट पार्नु आवश्यक देखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button