पर्सामा धार्मिक सद्भाव भड्काउने षड्यन्त्र : मस्जिदमा सुँगुरको टाउको फाल्ने तीन जनासहित सुतली बम बरामद

वीरगञ्ज – पर्सामा धार्मिक सद्भाव भड्काउने ठूलो षड्यन्त्रको पर्दाफास हुनुका साथै प्रहरीले नौ वटा सुतली बम र सुँगुरको टाउकोसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। वीरगञ्ज महानगरपालिका–१६ स्थित छप्कैया क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पक्राउ पर्नेहरूमा स्थानीय कृष्ण यादव, सुनसरीको इनरुवा घर भएका रोहित पटेल र अवजित यादव रहेका छन्। उनीहरूले वडा नम्बर १६ कै एक मस्जिदमा सुँगुरको टाउको फाल्ने र सुतली बम पड्काएर क्षेत्रमा आतंक फैलाउने योजना बनाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
यद्यपि, उनीहरूले आफ्नो यो घृणित योजना कार्यान्वयन गर्न नपाउँदै नेपाल सेनाको टोलीले उनीहरूलाई पिछा गरेर नियन्त्रणमा लिएको हो। नेपाल सेनाका उपसेनानी विकाश मरहट्टाको कमाण्डमा खटिएको टोलीले शंकास्पद गतिविधि देखेपछि उनीहरूलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकाहरूको साथबाट नौ वटा सुतली बम र एउटा सुँगुरको टाउको बरामद भएको प्रहरीले पुष्टि गरेको छ।
प्रहरीले उनीहरूमाथि धार्मिक सद्भाव भड्काउने प्रयास गरेको कसुरमा अनुसन्धान अघि बढाएको छ। यस घटनाले वीरगञ्ज क्षेत्रमा केही समयका लागि तनाव सिर्जना भए पनि प्रहरी र सेनाको संयुक्त टोलीले स्थितिलाई नियन्त्रणमा लिएको छ। क्षेत्रमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको र स्थानीयबासीलाई शान्ति कायम राख्न आग्रह गरिएको प्रहरीले जनाएको छ।





