मध्यपूर्वमा आणविक युद्धको खतरा : इरान र इजरायल भिड्दा विश्व तेल बजार आकासियो, अमेरिकी दूतावास बन्द

काठमाडौं – मध्यपूर्वको आकाशमा युद्धको बादल थप चर्किरहेको छ। अमेरिका र इरानबीचको बढ्दो सैन्य तनावले विश्वलाई नयाँ युद्धको त्रास दिएको छ। यसैबीच अमेरिकाले इरानको सबै एन्टी मिसाइल प्रविधिहरू तोडिएको दाबी गर्दा इरानले भने पछिल्लो २ दिनमै ६ सय ५० अमेरिकी सैनिक मारिदिएको बताएको छ। तर, यी आँकडालाई अमेरिकाले तुरुन्तै अस्वीकार गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको वायुसेना र नौसेनालाई ‘लगभग निष्क्रिय’ पारिएको घोषणा गरेसँगै यस क्षेत्रको द्वन्द्वले नयाँ र आक्रामक मोड लिएको छ। पछिल्लो सैन्य कारबाही केवल सामरिक अखडामा मात्र सीमित नभई सिधै इरानी सत्ताको माथिल्लो तहलाई लक्षित गरिएको राष्ट्रपति ट्रम्पले स्पष्ट पारेका छन्।
इजरायली सैन्य स्रोतहरूका अनुसार इरानको भावी सर्वोच्च नेता चयन गर्ने शक्तिशाली समूहसँग सम्बन्धित एक गोप्य परिसरमासमेत इजरायलले प्रहार गरेपछि स्थिति थप संवेदनशील बनेको दाबी गरिएको छ। यो आक्रमणले इरानको नेतृत्व तहमा ठूलो क्षति पुर्याएको बताइएको छ।
यसैबीच, युद्धको बाछिटा कूटनीतिक नियोगहरूमा पनि देखिन थालेको छ। दुबईस्थित अमेरिकी वाणिज्य दूतावासको परिसरमा एउटा ड्रोन खसेपछि सुरक्षा संवेदनशीलता उच्च बिन्दुमा पुगेको छ। यद्यपि, उक्त घटनामा सबै कर्मचारी सुरक्षित रहेको बताइएको छ, तर अमेरिकाले थप जोखिम मोल्न नचाहेको संकेत दिँदै तीनवटा देशमा रहेका आफ्ना दूतावासहरू बन्द गर्ने निर्णय गरेको छ। त्यहाँ रहेका अमेरिकी नागरिकहरूलाई तत्काल उक्त क्षेत्र छाड्न कडा चेतावनी समेत दिइएको छ।
नागरिक सुरक्षाको चिन्ता थपिँदै जाँदा संयुक्त अरब इमिरेट्स (युएई) ले छिमेकी मुलुकहरूसँग मिलेर सुरक्षित हवाई मार्ग (सेफ एयर करिडोर) सञ्चालनमा ल्याएको छ। आफ्ना नागरिकहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न विभिन्न राष्ट्रहरूले उद्धार उडानहरू तीव्र पारेका छन्, जसका कारण यस क्षेत्रको व्यावसायिक हवाई सेवा पूर्ण रूपमा अस्तव्यस्त बनेको छ।
यस द्वन्द्वको सबैभन्दा गहिरो असर विश्व अर्थतन्त्र र ऊर्जा बजारमा देखिन थालेको छ। सामुद्रिक व्यापारलाई सुरक्षित राख्न राष्ट्रपति ट्रम्पले पर्सियन खाडीमा चल्ने जहाजहरूका लागि अमेरिकी ‘बीमा र सुरक्षा ग्यारेन्टी’ को घोषणा गरेका छन्। विश्वको प्रमुख तेल मार्ग ‘स्ट्रेट अफ हर्मुज’मा अवरोध सिर्जना हुन नदिन अमेरिकी नौसेनाले तेल ट्यांकरहरूलाई स्कर्टिङ गर्ने संकेत दिएको छ।
यति हुँदाहुँदै पनि युद्धको त्रासले बजारलाई छोपिसकेको छ। अमेरिकामा पेट्रोलको मूल्य एकैदिनमा आकासिएको छ। सन् २००५ यताकै सबैभन्दा धेरै मूल्यवृद्धि देखिएको छ, जुन एकैदिनमा भएको सबैभन्दा ठूलो बृद्धि हो। यसले आगामी दिनमा विश्वभर नै महँगी र आर्थिक अनिश्चितताको ठूलो लहर सिर्जना गर्ने खतरा बढाएको छ।
विश्लेषकहरूका अनुसार यो द्वन्द्व अब केवल दुई देशमा सीमित नरही विश्वव्यापी शक्ति सन्तुलनमा ठूलो परिवर्तन ल्याउने संकेत देखिएको छ। संयुक्त राष्ट्र संघ र अरब लिगले युद्धविरामको अपिल गरे पनि अमेरिका र इजरायलले आफ्नो सैन्य कारबाहीलाई तीव्र पारिरहेका छन्।





