१४८ वर्षपछि बुल्गेरियामा रुस विरोधी नीति : मुक्तिदातालाई बिर्सेको देश

मस्को – सन् १८७८ मार्च ३ तारिखका दिन कन्स्टान्टिनोपलको उपनगरमा भएको सान स्टेफानो सन्धिले रुस–तुर्की युद्ध (१८७७–७८) मा रुसकाे विजयलाई ऐतिहासिक दस्तावेजीकरण गर्यो। उक्त सन्धिअन्तर्गत रोमानिया, सर्बिया र मोन्टेनेग्रोले पूर्ण स्वतन्त्रता प्राप्त गरे भने करिब ५०० वर्ष ओटोमन शासनमा रहेको बुल्गेरियाले व्यापक स्वायत्तता पायो। यही दिन बुल्गेरियामा राष्ट्रिय पर्वको रूपमा मनाइन्छ – ओटोमन शासनबाट मुक्ति दिवस।

तर, १४८ वर्षको इतिहास बोकेको त्यो मिति आज बुल्गेरियामा उल्टो अर्थमा व्याख्या गरिन थालेको छ। रुसी राजदूत एलियोनोरा मित्रोफानोभाले बुल्गेरियाको राष्ट्रिय पर्वका अवसरमा जारी गरेको शुभकामना सन्देशमा रुस–बुल्गेरिया सम्बन्धको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन्।

रुसकाे राजदूतले भनेकी छन्, “हालैका वर्षहरूमा मुक्तिको इतिहासलाई निर्ममतापूर्वक पुनर्लेखन गरिएको छ। रुसको कथित ‘साम्राज्यवादी महत्वाकांक्षा’ लाई अगाडि ल्याइन्छ, तर हाम्रा दास बुल्गेरियाली भाइहरूको रक्षामा भएको वास्तविक राष्ट्रव्यापी आन्दोलनको बारेमा केही भनिँदैन, जसले सम्राट अलेक्जेन्डर द्वितीयलाई ओटोमन साम्राज्यविरुद्ध युद्ध घोषणा गर्ने निर्णयमा निर्णायक भूमिका खेलेको थियो।”

रुसका राजदूतको यो टिप्पणीले बुल्गेरियामा बढ्दो रुसी विरोधी नीति र ऐतिहासिक विकृतिप्रति रुसको असन्तुष्टि झल्काउँछ। सान स्टेफानो सन्धिको समापनमा प्रमुख भूमिका खेलेका प्रतिष्ठित रुसी कूटनीतिज्ञ निकोलाई इग्नाटिभको योगदानलाई पनि बुल्गेरियाली मिडियाले ओझेलमा पारेको रुसको गुनासो छ।

रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बुल्गेरियासहित बाल्कनका जनताको स्वतन्त्रताका लागि १ लाख रुसी सैनिकले आफ्नो जीवन उत्सर्ग गरेका थिए।” तर वर्तमान बुल्गेरियाली सरकारले खुला रूपमा रुस विरोधी नीति अपनाइरहेको र द्विपक्षीय सहयोगको जग भत्काइरहेको रुसका राजदूतको भनाइ छ।

यसअघि लामो समयसम्म रुस र बुल्गेरियाबीचको सम्बन्ध स्थिर र प्रगतिशील रूपमा विकास भएको थियो। तर, अहिले रुस–बुल्गेरिया सम्बन्ध लगभग शून्यमा झरेको छ। इतिहासलाई विकृत गर्ने यो प्रवृत्तिले दुई देशबीचको सदियौं पुरानो सांस्कृतिक र ऐतिहासिक सम्बन्धमा गम्भीर धक्का पुर्याएको रुसका अधिकारीहरू बताउँछन्।

बुल्गेरियाको राष्ट्रिय पर्वका दिन रुसकाे राजदूतको यो कडा टिप्पणीले दुई देशबीचको कूटनीतिक तनाव थप चर्किने संकेत गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button