३० चैत्र २०८२, सोमबार

गोल गर्ने निराजन चम्किए तर आयोजक नै फिका

प्रोटोकल मिचियो, पुराना खेलाडी अपमानित, 'एमटी एरिना' को नाममा राजनीति घुसेको आरोप

खजुरा (बाँके) । ‘प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता-२०८२’ सोमबारदेखि सुरु भए पनि आयोजकको कार्यशैली र व्यवस्थापकीय कमजोरीले खेलको गरिमामाथि नै प्रश्नचिह्न खडा भएको छ। न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजनामा डिगाउँस्थित मिनी रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गोर्खा ब्वाइजले संकटालाई १-० ले हराएर खेलको नतिजा सुखद बने पनि मैदान बाहिरको दृश्यले भने स्थानीय खेलप्रेमीहरू निराश बनेका छन्।

उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिक र उपाध्यक्ष मञ्जु मल्लसहित खेल क्षेत्रसँग असम्बन्धित दर्जनौं व्यक्तिहरूलाई अतिथिका रूपमा आसनग्रहण गराइएको थियो। कार्यक्रम सञ्चालक अर्जुन थापाले प्रोटोकलको समेत ख्याल नगरी आसनग्रहण गराउने क्रममा क्लबकै पुराना खेलाडीहरूलाई भने बेवास्ता गरेको पाइयो। बाँके जिल्लाकै पहिलो लाइसेन्स प्राप्त एन्फा रेफ्री एवं पुराना फुटबल खेलाडी दिपककुमार पौडेलजस्ता व्यक्तित्वलाई सम्मानजनक स्थान दिनुको सट्टा उपेक्षा गरिएकोमा स्थानीय खेलकुद वृत्तमा आक्रोश व्यक्त गरिएको छ। राष्ट्रिय खेलका क्रममा घाइते भई खेलकुद मन्त्रालयको सहयोगसमेत अस्वीकार गरेका पौडेलको योगदानलाई भुल्नु आयोजकको ठूलो कमजोरी मानिएको छ।

यसैगरी, प्रतियोगिताको नामकरण र प्रचारप्रसारमा पनि विवाद देखिएको छ। सुरुदेखि नै ‘प्रथम खजुरा गोल्डकप’ भनेर व्यापक प्रचार गरिएकोमा एकाएक ‘एमटी एरिना’ नामलाई अग्रस्थानमा राखिएपछि खेल सुरु हुनुअगावै राजनीति घुसेको स्थानीयहरूको बुझाइ छ। यति मात्र होइन, खेलमैदान व्यवस्थापन र गेट निर्माणमा निस्वार्थ भावनाले खटिएको ब्रदर्स एफसीको नामसमेत कतै सुनुवाइ नभएपछि ‘काम गर्ने हनुमान, पगरी गुथ्ने ढेंडु’ भन्ने उखान चरितार्थ भएको टिप्पणी हुन थालेको छ।

व्यवस्थापकीय कमजोरीकै कारण उद्घाटनकै दिन खेलमैदानमा दर्शकको उपस्थिति अत्यन्तै न्यून रह्यो। भोलिदेखि टिकट लिएर मात्र प्रवेश दिइने पूर्वघोषणा गरिए पनि दर्शक नै नआएपछि आयोजकले फेसबुकमार्फत निःशुल्क प्रवेशको सूचना जारी गर्नुपरेको छ। प्रतियोगिता बैशाख ६ गतेसम्म चल्ने भए पनि सुरुवाती दिनको यो अव्यवस्थाले खजुरा गोल्डकपको गरिमामाथि नै प्रश्न उठेको छ।

– खजुरा संवाददाता

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button