होर्मुज जलसन्धिको सुरक्षा अन्तर्राष्ट्रिय साझा चासो : चीन
बेइजिङ — होर्मुज जलसन्धि र यसको आसपासको क्षेत्र विश्व व्यापार र ऊर्जा ढुवानीका लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय मार्ग भएको चीनले बताएको छ। यस क्षेत्रको सुरक्षा र स्थायित्व कायम राख्नु अन्तर्राष्ट्रिय समुदायको साझा हितमा रहेको चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले बुधबार पत्रकार सम्मेलनमा जानकारी गराइन्।
प्रवक्ता माओले सम्बन्धित सबै पक्षलाई तत्काल सैन्य कारबाही बन्द गर्न आग्रह गर्दै तनाव थप वृद्धि नहोस् र विश्व अर्थतन्त्रमा ठूलो असर पार्न सक्ने अस्थिरताबाट बच्न आह्वान गरिन्। उनले भनिन्, “हामी सबै पक्षलाई तुरुन्तै सैन्य कारबाही रोक्न, तनाव थप नबढाउन र विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पार्न सक्ने अस्थिरतालाई रोक्न आग्रह गर्दछौं।”
होर्मुज जलसन्धि विश्वको कुल पेट्रोलियम पदार्थको झण्डै पाँचौं भाग ढुवानी हुने महत्वपूर्ण जलमार्ग भएकाले यस क्षेत्रको सुरक्षाप्रति अन्तर्राष्ट्रिय समुदाय सचेत रहेको छ। चीनले यस क्षेत्रमा देखिएको तनावपूर्ण अवस्थाप्रति चिन्ता व्यक्त गर्दै वार्ता र कूटनीतिक माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ।





