एउटा भन्छ ‘प्रोजेक्ट सीआईए’ राम्रो, अर्को भन्छ नेपाल विपक्षमा जानुहुँदैन !

काठमाडौं — ‘दुनियाँ हेर्न बडो लायकको स्थितिमा पुगेछ, सूचना छानेर हेर्नुपर्छ’, मदन आश्रित चुडालको यो भनाइले अहिलेको भूराजनीतिक परिदृश्यमा बौद्धिक वर्गको दोहोरो चरित्र उदांगो पारेको छ। एकातिर अमेरिकी विद्वान जेफ्री स्याच्सले इजरायललाई ‘विश्वकै सबैभन्दा हिंसात्मक देश’ भन्दै त्यसको पछाडि अमेरिकी सीआईएको लामो परियोजना रहेको खुलासा गरिरहेका छन् भने अर्कोतिर नेपालकै एक विश्लेषक अरुण सुवेदी नेपालको दीर्घकालीन हितका लागि उही अमेरिका, भारत र इजरायलको विपक्षमा नजान सुझाइरहेका छन्।

प्रख्यात अमेरिकी अर्थशास्त्री जेफ्री स्याच्सले मध्यपूर्वमा जारी संघर्षको जरोतर्फ संकेत गर्दै भनेका छन्, “इजरायल विश्वको सबैभन्दा हिंसात्मक देश हो, तर यसले आफ्नो पछाडि अमेरिकी समर्थन रहेकोमा भर पर्छ। यो केवल ट्रम्पको कुरा होइन, यो लामो समयदेखि चल्दै आएको सीआईएको परियोजना हो। कुनै औपचारिक भनाइसँग यो जोडिएको छैन; यो त मध्यपूर्वमाथि अमेरिकी नियन्त्रणको विषय हो।”

यता नेपालका अरुण सुवेदीको तर्क भने ठीक उल्टो छ, नेपालको दीर्घकालीन हितका लागि अमेरिका, भारत र इजरायलको विपक्षमा जान नहुने। यहीँनेर चुडालले सुवेदीलाई १० प्रश्न गरेका छन्, जसले नेपालको विकास, गरिबी, संस्कृति र भूराजनीतिमाथि गहिरो बहस छेडेको छ।

चुडालले सोधेका छन्, “आजसम्म नेपालका शासकहरू यिनै राष्ट्रको विपक्षमा कहिले उभिए? विश्व बैंक र एडीबीको नीति लागू हुँदा पनि नेपाल किन माग्ने बन्यो? ३५ वर्षमा ६२ लाख गरिब किन? २०५२ सालपछिको द्वन्द्व यिनै शक्तिको सहयोगमा चलेको होइन र? गरिबी हुने ठाउँमा धर्मान्तरण र संस्कृति मेटाउने खेल हुन्छ, त्यसमा तपाईंको मौनता?”

उनले थप प्रश्न गरेका छन्, “हामी कसैको पक्षमा उभिने कि सबैसँग समानान्तर सम्बन्ध राख्ने? चीन, रुस, अरब राष्ट्रसँग राष्ट्रिय हितमा सम्बन्ध राख्दा के बिग्रन्छ? देशमा खर्बौं छ, तर ५० अर्बमा सार्वभौमसत्ता बिक्री गर्दा पनि पेट भरिएन?”

चुडालले अरुण सुवेदी विगतमा प्रधानमन्त्री देउवाका राजनीतिक सल्लाहकार रहेको सन्दर्भ जोड्दै भनेका छन्, “यस्तै सल्लाह दिएपछि असंगठित आन्दोलनले देश खरानी नबनाएर के बनाउने? उत्तरको शक्तिशाली छिमेकी चीनको विकास र साझेदारी देख्दा टाउको दुख्नुको अर्थ के हो?”

अन्त्यमा चुडालले सबैलाई सचेत गराउँदै भनेका छन्, “फगत प्रचार नचलाउँदा राम्रो, हामी पनि अलिअलि बुझ्ने भएका छौं। भ्रममुक्त बनौं।”

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button