अब एसएमएसबाटै पाइने भयो मतगणनाको ‘लाइभ अपडेट’

काठमाडौं — निर्वाचनपछिको मतगणनाको परिणाम अब रेडियो, टेलिभिजन वा अनलाइन सञ्चारमाध्यममात्रै नभएर एसएमएसबाट पनि थाहा पाउन सकिने भएको छ। डिजिटल सञ्चार समाधान प्रदायक कम्पनी ‘आकाश एसएमएस’ले सर्वसाधारणका लागि मोबाइल एसएमएसमार्फत मतगणनाको ‘लाइभ अपडेट’ प्राप्त गर्न सकिने सेवा सञ्चालनमा ल्याएको हो।

निर्वाचनको नतिजा आउने क्रममा समाचार वेबसाइटहरूमा हुने अत्यधिक चाप (ट्राफिक), इन्टरनेटको पहुँच नभएका स्थान वा स्मार्टफोन प्रयोग नगर्ने नागरिकलाई मध्यनजर गर्दै यो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ।

यो सेवा प्रयोग गर्न निकै सरल छ। प्रयोगकर्ताले आफ्नो मोबाइलको ‘मेसेज बक्स’मा गएर एउटा सन्देश टाइप गर्नुपर्ने हुन्छ।

पहिलो चरणमा मेसेज बक्समा ‘EC’ उल्लेख गरी स्पेस दिएर आफ्नो जिल्ला/क्षेत्रको नाम र पुनः स्पेस दिएर क्षेत्र नम्बर टाइप गर्नुपर्छ। त्यसपछि उक्त सन्देशलाई ‘३१००३’ मा पठाउनुहोस्।

उदाहरणका लागि, यदि तपाईं काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ को मतगणनाको अपडेट जान्न चाहनुहुन्छ भने ‘EC Kavrepalanchok 1’ टाइप गरी ३१००३ मा पठाउनुपर्नेछ। म्यासेज पठाएको केही क्षणमै सम्बन्धित क्षेत्रको पछिल्लो मतपरिणाम एसएमएसमार्फत नै प्राप्त हुनेछ।

आकाश एसएमएसका भाइस प्रेसिडेन्ट राजन कोइरालाले यो सेवा विशेषगरी दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिक, इन्टरनेटको सहज पहुँच नभएका व्यक्ति र वेबसाइटको भिडभाडबाट बच्न चाहनेहरूका लागि निकै उपयोगी हुने विश्वास व्यक्त गरे। “साधारण मोबाइल प्रयोगकर्ताले पनि सहज रूपमा निर्वाचनको जानकारी पाउन सकून् भन्ने हाम्रो उद्देश्यले यस्तो सुविधा उपलब्ध गराएका हौं,” उनले भने।

यस सेवामार्फत उपलब्ध गराइने तथ्याङ्कहरू निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा आधारित हुने भएकाले सूचनाको विश्वसनीयता सुनिश्चित गरिएको कम्पनीले जनाएको छ। यसले मतदाता तथा सरोकारवालालाई तुरुन्त, भरपर्दो र सहज रूपमा नतिजा थाहा पाउने माध्यम उपलब्ध गराएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button