भूमध्यसागरमा रूसी ग्यास ट्यांकरमाथि आक्रमण, ३० चालक दलका सदस्य सुरक्षित

काठमाडौं / भूमध्यसागरमा रूसी ग्यास वाहक जहाज ‘आर्कटिक मेटागाज’ माथि भएको आक्रमणमा परेका सम्पूर्ण ३० चालक दलका सदस्यलाई सुरक्षित उद्धार गरिएको छ। रूसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोभाले पत्रकार सम्मेलनमा यस आक्रमणबारे जानकारी दिँदै दुई जना घाइते भएको बताएकी छिन्।

मार्च ३ मा भएको उक्त आक्रमणपछि रूसी विदेश मन्त्रालय र विदेशस्थित कूटनीतिक नियोगहरूले चालक दलका सदस्यहरूको उद्धार अभियानमा सहभागिता जनाएका थिए। जखारोभाका अनुसार आक्रमणमा परी जलेर घाइते भएका दुई जनालाई तटीय राज्यको सहयोगमा चिकित्सा उपचार उपलब्ध गराइएको छ। क्षेत्रमा रहेका रूसी कूटनीतिक नियोगहरूले स्थितिमाथि निगरानी राखिरहेका छन् र आवश्यक सहायता उपलब्ध गराउन तयार रहेको उनले बताइन्।

रूसी यातायात मन्त्रालयले उक्त आक्रमण युक्रेनी मानवरहित डुङ्गाहरू (ड्रोन) बाट भएको दाबी गरेको छ। यदि यो पुष्टि भएमा, यसलाई आतङ्कवादको कार्य, अन्तर्राष्ट्रिय कानूनको घोर उल्लङ्घन र समुद्री सुरक्षाका लागि प्रत्यक्ष खतरा मानिने रूसले जनाएको छ। उक्त जहाज ग्यास वाहक भएकाले यस आक्रमणको परिणामले ठूलो वातावरणीय क्षति समेत निम्त्याउने चिन्ता व्यक्त गरिएको छ।

रूसले यस घटनाको जवाफमा राजनीतिक र कूटनीतिक उपायहरू अपनाउने अधिकार सुरक्षित राखेको जनाएको छ। यस्ता कार्यहरूले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा पुर्याएको खतरालाई ध्यानमा राख्दै रूसले आवश्यक कदम चाल्ने जखारोवाले बताइन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button