जेन–जी विद्रोहपछि नयाँ जनादेशको दिन : देशभर मतदान, नेतादेखि नागरिकसम्म उत्साहपूर्ण सहभागिता

काठमाडौं — जेन–जी विद्रोहका कारण तत्कालीन सरकार र प्रतिनिधिसभा विस्थापित भएको ठीक ६ महिनापछि आज देश नयाँ जनादेशका लागि मतदानमा होमिएको छ। बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान अपराह्न ५ बजेसम्म जारी रहनेछ । निर्वाचन आयोगका अनुसार सो समयसम्म मतदानस्थलमा प्रवेश गरेका मतदाताले आफ्नो मत हाल्न पाउने व्यवस्था गरिएको छ।
यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ तथा समानुपातिकतर्फ ३ हजार १ सय ३५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। प्रत्यक्षतर्फ उम्मेदवारी दिएका मध्ये ३ हजार १७ पुरुष र ३ सय ८८ महिला उम्मेदवार छन्। राजनीतिक अस्थिरताको पृष्ठभूमिमा भइरहेको यो निर्वाचनलाई नयाँ राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
यसैक्रममा प्रमुख दलका नेताहरूले बिहानै मतदान गरी नागरिकलाई सहभागिताका लागि आह्वान गरेका छन्। नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङ क्षेत्र नम्बर २ अन्तर्गत बिजौरीस्थित विद्यापीठ मतदान केन्द्रमा पुगेर मतदान गरेका छन्। त्यस्तै, रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले बुटवल उपमहानगरपालिका–८ स्थित पश्चिमाञ्चल डिभिजन सडक कार्यालय मतदान केन्द्रमा आफ्नो मताधिकार प्रयोग गरेका छन्।
देशभरका मतदान केन्द्रमा सुरक्षाको कडा व्यवस्था मिलाइएको छ भने सर्वसाधारण मतदातामा उल्लेख्य उत्साह देखिएको छ। राजनीतिक संक्रमणपछि स्थायित्व र सुशासनको अपेक्षासहित नागरिकहरू मतदानमा सहभागी भइरहेका छन्।
यो निर्वाचनले जेन–जी विद्रोहपछि उत्पन्न शक्ति–सन्तुलनलाई नयाँ स्वरूप दिने विश्वास गरिएको छ। परिणामले अबको शासन–दिशा, नेतृत्व र नीतिगत प्राथमिकता निर्धारण गर्नेछ। अहिले देशभर शान्तिपूर्ण रूपमा मतदान जारी रहेको निर्वाचन आयोगले जनाएको छ।






