विद्रोहपछिको निर्णायक दिन : देशभर मतदान, शीर्ष नेताहरूको सहभागिता

काठमाडौं / जेन–जी विद्रोहका कारण तत्कालीन सरकार र प्रतिनिधिसभा विस्थापित भएको छ महिनापछि आज देश नयाँ जनादेशका लागि मतदानमा होमिएको छ। बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान अपराह्न ५ बजेसम्म जारी रहनेछ। निर्वाचन आयोगका अनुसार सो समयभित्र मतदान केन्द्रमा प्रवेश गरेका मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ।

यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ र समानुपातिकतर्फ ३ हजार १ सय ३५ उम्मेदवार प्रतिस्पर्धामा छन्। प्रत्यक्षतर्फ उम्मेदवारी दिएका मध्ये ३ हजार १७ पुरुष र ३ सय ८८ महिला उम्मेदवार रहेका छन्। राजनीतिक उथलपुथलपछि हुन लागेको यो निर्वाचनलाई मुलुकको आगामी राजनीतिक दिशा तय गर्ने निर्णायक क्षणका रूपमा हेरिएको छ।

यसैबीच, पुष्पकमल दाहालले चितवन–३ अन्तर्गत भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित नेपाल पुलिस स्कुलमा रहेको “क” मतदान केन्द्रबाट बिहीबार बिहानै मतदान गरेका छन्। नेकपा संयोजकका रूपमा उनी चुनावी प्रतिस्पर्धाको केन्द्रमा छन्।

राष्ट्रपति र उपराष्ट्रपतिले मतदान नगरे पनि प्रधानमन्त्री सुशीला कार्कीले भने काठमाडौंको धापासीस्थित मतदान केन्द्रमा पुगेर मत हाल्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री मतदान गर्नुअघि नै उक्त केन्द्रमा कडा सुरक्षा जाँच र निगरानी व्यवस्था गरिएको छ।

देशभरका मतदान केन्द्रमा सुरक्षाको विशेष प्रबन्ध मिलाइएको छ भने सर्वसाधारण मतदातामा उल्लेख्य उत्साह देखिएको छ। विद्रोहपछिको राजनीतिक संक्रमणलाई स्थायित्वमा रूपान्तरण गर्ने अपेक्षासहित नागरिकहरू मतदानमा सहभागी भइरहेका छन्।

निर्वाचनको परिणामले अबको सत्ता समीकरण, नेतृत्व र नीतिगत प्राथमिकताको दिशा निर्धारण गर्ने विश्वास गरिएको छ। हाल देशभर शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया अघि बढिरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button