दाउन्नेको सकस : सात वर्षमा ८० प्रतिशत मात्र प्रगति, ढलानपछि जेठमा सकिने दाबी

काठमाडौं — एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम सात वर्ष पुग्दा पनि समग्र प्रगति ८० प्रतिशत मात्र पुगेको छ। चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माण गरिरहेको यस आयोजनाको २०७५ चैतमा ठेक्का सम्झौता भएको थियो।
आउने चैतमा सात वर्ष पूरा हुँदा पनि काम सकिन सकेको छैन। यसबीचमा चार पटक म्याद थप गरिसकिएको छ। अन्यत्र काम सकिए पनि दाउन्नेको १४ किलोमिटर खण्डमा भने समस्या उस्तै छ। बर्खामा यो खण्डमा बढी समस्या आउन थालेपछि ११ किलोमिटर सडक सिमेन्ट ढलान गरिँदै छ।
आयोजना निर्देशनालय (एडीबी) का आयोजना प्रमुख चूडाराज ढकालका अनुसार सुरुको डिजाइनमा दाउन्ने क्षेत्रको जोखिम आकलन गर्न नसक्दा परामर्शदाता र निर्माण व्यवसायीकै आग्रहमा डिजाइन पुनर्विचार गरी ढलान सडक निर्माण गर्न लागिएको हो।
“दाउन्ने खण्डमा निर्माणका क्रममा धेरै समस्या आइरहेका कारण टिकाउका लागि सबैतिरबाट ढलान सडक नै चाहियो भनियो। पहिला गरेको अनुमानभन्दा त्यस क्षेत्रको माटो फरक पाइयो,” ढकालले भने, “पानी रसाइरहने र दलदल माटो बढी भयो। उक्त क्षेत्रमा मालवाहक सवारीसाधन बढी गुड्ने भएकाले ब्रेक लगाउँदा कालोपत्र सडक भासिने र बिग्रने जोखिम बढी देखियो।”
विशेषज्ञ र परामर्शदाताको सुझावपछि ढलान नै गर्नुपर्ने निर्णय भएको उनको भनाइ छ। १४ किलोमिटर मध्ये ३ किलोमिटर कालोपत्र भइसकेको छ भने बाँकी ११ किलोमिटर ढलान सडक निर्माण हुनेछ। हालसम्म साढे ६ किलोमिटर सडक ढलान भइसकेको छ भने साढे ४ किलोमिटर ढलान गर्न बाँकी छ।
“दिनमा ५० मिटरका दरले सडक ढलानको काम भइरहेको छ। ढलानको काम पछि थपिँदा अनुमानित लागतभन्दा करिब ५१ करोड बढी लागत पर्न गएको छ,” ढकालले भने। उनका अनुसार ३० वर्षको अवधिमा कालोपत्र सडक तीन पटक नयाँ बनाउनुपर्ने र हरेक एक-दुई वर्षमा मर्मत गरिरहनुपर्ने बाध्यता ढलान सडकमा नहुने भएकाले यो विकल्प रोजिएको हो।
सडक कालोपत्र गर्न आवश्यक अलकत्रा र बिटुमिन बाह्य मुलुकबाट ल्याउनुपर्ने बाध्यता रहेकोमा ढलान सडकका लागि सिमेन्ट, ढुंगा, गिट्टी, बालुवा स्वदेशमै उपलब्ध हुने भएकाले यसले स्वदेशी उद्योगलाई समेत टेवा पुगेको आयोजनाले जनाएको छ।
समग्र आयोजनाको म्याद असारसम्म भए पनि दाउन्ने खण्डको काम जेठभित्रै सकिने दाबी ढकालले गरे। “अन्यत्र सबै काम सकिएर रंगरोगन भइरहेको छ, सर्भिस लेनको काम आधा बढी सकिएको छ,” उनले भने, “दाउन्नेमा दुईवटा कल्भर्ट निर्माणका क्रममा छन्, तर कामको गति बढी भएकाले अब ढिला हुने छैन।”
२०७५ चैतमा ठेक्का सम्झौता भएअनुसार यो सडकखण्डको काम २०७९ साउनभित्र सकिसक्नुपर्ने थियो। तर कोभिड–१९ र निर्माण सामग्री अभावको कारण देखाएर पहिलो पटक २०८० साउन, दोस्रो पटक २०८१ साउन, तेस्रो पटक २०८२ साउन र चौथो पटक असार २०८३ सम्म म्याद थपिएको छ। सडकको कुल दूरी १ सय १३ किलोमिटर छ। यसको दुई खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ रहेको छ।
निर्माण अवधिमा दाउन्ने खण्डबाट यात्रा गर्ने यात्रु तथा सवारी चालकहरूले निकै असुविधा भोग्नुपरेको स्वीकार गर्दै ढकालले भने, “यसमा हामी दुःखी छौं। अब जेठबाट यात्रामा सडक र पुलका कारण कुनै सास्ती भोग्नुपर्ने छैन। यात्रुहरूले सहज रूपमा यात्रा गर्न पाउने छन्।”





