बालेन हेलिकोप्टर प्रकरण : अफवाहको पछाडि सुरक्षा चुनौती र संयमताको कथा

काठमाडौं — मतदान सम्पन्न गरेलगत्तै झापा–५ तर्फ उडेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा उम्मेदवार बालेन्द्र शाह (बालेन) सवार हेलिकोप्टरलाई लिएर अनेकौँ अफवाह फैलिएको छ। ‘बालेनलाई झापामा अवतरण गर्न दिइएन’ भन्ने हल्लाले सामाजिक सञ्जाल तताए पनि वास्तविकता भने फरक पाइएको छ।
बिहीबार बिहान काठमाडौंमा मतदान गरेपछि बालेन निर्वाचन आयोगको पूर्वस्वीकृतिमै ‘हेली एभरेस्ट’ को हेलिकोप्टरमार्फत झापातर्फ उडेका थिए। तर, उनी झापा नपुगी बीचैबाट काठमाडौं फर्किएपछि ‘अवतरण गर्न नदिएको’ भ्रामक खबर फैलियो।
चन्द्रगढी एयरपोर्टका प्रमुख किशोरकुमार खत्रीले बालेनको हेलिकोप्टर झापाको आकाशमै नआएको स्पष्ट पारेका छन्। “उहाँ आएर अवतरण गर्न नपाएको भन्ने सरासर हल्ला हो। अनुमति पाएको उडानलाई अवतरण गर्न नदिने भन्ने कुरै हुँदैन,” उनले भने।
यसैगरी, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पनि आयोगबाटै उडान अनुमति लिइसकेको अवस्थामा अवतरणमा रोक लगाउने कुनै नीति नरहेको प्रष्ट पारेका छन्। उनले रास्वपाले हेलिकोप्टर प्रयोगका लागि अग्रिम अनुमति नलिएको कारण अवतरण हुन नसकेको बताएका थिए।
यसको भित्री कारण सुरक्षा संवेदनशीलता रहेको बालेनको सचिवालयले जनाएको छ। बालेन झापा जाने खबरसँगै त्यहाँ नेकपा एमालेका कार्यकर्ताहरूले आचारसंहिताको विषय उठाएर निर्वाचन कार्यालयमा उजुरी हालेका थिए र तनावको स्थिति सिर्जना हुने जोखिम बढेको थियो।
बालेनका निकट सहयोगी कुमार बेनका अनुसार, हेलिकोप्टर उडिसकेको अवस्थामा स्थानीय सुरक्षा निकायबाट ‘अवतरण गर्दा सुरक्षा चुनौती बढ्न सक्ने र निर्वाचनमै समस्या पर्न सक्ने’ जानकारी आएको थियो। स्रोतका अनुसार झापामा शार्प सुटरसम्म तयार रहेको सूचना बालेन सचिवालयलाई प्राप्त भएको दाबी छ।
“हामी चुनावको दिन कुनै पनि किसिमको झगडा वा तनाव निम्त्याउने पक्षमा थिएनौं। सुरक्षाको विषय आएपछि निर्वाचन शान्तिपूर्ण होस् भनेर हामी बीचैबाट फर्किएका हौं,” बेनले स्पष्ट पारे।
आफूमाथि उठेका प्रश्न र सम्भावित मुठभेडलाई टार्न बालेनले देखाएको यो संयमताले उनको राजनीतिक परिपक्वता झल्काएको छ। अहंकार भन्दा माथि उठेर शान्तिपूर्ण निर्वाचनलाई प्राथमिकता दिनु नै यस प्रकरणको वास्तविक र सुन्दर पक्ष हो।
देशीविदेशी मिडियामार्फत त्यत्रो कभरेज पाएको पृष्ठभूमिमा हिजै अनुमति लिएर आज झापा उडेका बलिया उम्मेदवार सवार हेलिकोप्टरलाई सुरक्षा खतरा र सञ्चालन आवश्यकताको कारण देखाउँदै बीच बाटैबाट फर्काइयो भने सुरक्षा चुक किन, कसरी, कसबाट भयो भनेर देशवासीलाई आश्वस्त तुल्याउनु पर्दैन सरकारले? गुमराहमा राख्न पाइन्छ? उम्मेदवार नै असुरक्षित भएपछि मतदाता सुरक्षित भन्नुको अर्थ रहन्छ? यी प्रश्नहरू यस घटनाले उठाएको छ।





