खजुरामा मतदान केन्द्रभित्रै अराजकता
रास्वपा उम्मेदवार सुनारद्वारा जबरजस्ती प्रवेश गरी प्रचार, कांग्रेसद्वारा कडा विरोध

बाँके — खजुरा गाउँपालिकास्थित नेराप्रावि मतदान केन्द्रमा बुधबार भएको घटनाले निर्वाचन प्रक्रियालाई केहीबेर अशान्त बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनारले मतदान केन्द्रमा जबरजस्ती प्रवेश गरी प्रचारप्रसार गरेपछि नेपाली कांग्रेसका प्रतिनिधिले कडा शब्दमा विरोध जनाएका छन्।
घटनाका अनुसार दिउँसो मतदान केन्द्रमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले गेट बन्द गरेर प्रवेशमा रोक लगाउँदा पनि उम्मेदवार सुनारले नमानी जबरजस्ती प्रवेश गरेका थिए। मतदान अधिकृतले समेत प्रवेश नगर्न अनुरोध गर्दा पनि उनले अटेर गर्दै आफ्ना सहयोगीसहित केन्द्रभित्र पसी मतदातासँग हात हल्लाउँदै प्रभावित पार्ने प्रयास गरेका थिए। विशेषगरी उनको यस मतदान केन्द्रमा मताधिकारसमेत नभएको अवस्थामा प्रचार गर्ने उद्देश्यले यस्तो गतिविधि गरेको देखिएको छ।
उम्मेदवार सुनारको यस अराजक व्यवहारका कारण मतदान केन्द्र झण्डै पाँचदेखि दस मिनेटसम्म अशान्त बनेको थियो। नेपाली कांग्रेसका प्रतिनिधिले उक्त कार्यविरुद्ध कडा शब्दमा विरोध जनाए पनि नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) लगायत अन्य दलका प्रतिनिधिहरूले भने कुनै प्रतिक्रिया नजनाएको स्थानीयले बताएका छन्। उनीहरूको मौनताले थप विवाद उत्पन्न गरेको छ।
पारदर्शी मतपेटिका, व्यवस्थित मतदान स्थल र मतदाताको सक्रियताले चुनावी वातावरण थप सजीव बनाइरहेको छ। स्थानीय बासिन्दाहरूले निर्वाचनलाई लोकतन्त्र सुदृढ गर्ने अवसरका रूपमा लिएको बताएका छन्। निर्वाचन परिणामले स्थानीय तथा राष्ट्रिय राजनीतिमा नयाँ दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।





