बहराइनमा रहेका नेपालीको सुरक्षाबारे परराष्ट्रमन्त्री शर्मा र बहराइनी समकक्षीबीच टेलिफोन वार्ता

काठमाडौं: परराष्ट्रमन्त्री बलानन्द शर्मा र बहराइनका परराष्ट्रमन्त्री डा. अब्दुल्लातिफ बिन रशिद अल–जायानीबीच आज साँझ टेलिफोन वार्ता भएको छ।

वार्ताका क्रममा दुई परराष्ट्रमन्त्रीबीच सम्पूर्ण पश्चिम एसिया क्षेत्रमा भइरहेको घटनाक्रमबारे विचार आदानप्रदान भएको थियो।

परराष्ट्रमन्त्री शर्माले बहराइनले अवस्थालाई प्रभावकारी रूपमा व्यवस्थापन गरिरहेको प्रयासको प्रशंसा गरे।

बहराइन सरकारले नेपाली नागरिकसहित सबै नागरिक र विदेशी नागरिकको सुरक्षा सुनिश्चित गरेकोमा हार्दिक आभार व्यक्त गर्दै परराष्ट्रमन्त्री शर्माले बहराइनी अधिकारीहरूले लागू गरेको सुरक्षा उपायहरूको प्रशंसा गरे।

यस कठिन समयमा नेपालबाट टेलिफोन वार्ताको पहल भएकोमा प्रशंसा व्यक्त गर्दै बहराइनका परराष्ट्रमन्त्रीले बहराइन सरकार नेपाली समुदायको संरक्षण गर्न प्रतिबद्ध रहेको र उनीहरूको सुरक्षाका लागि आवश्यक सबै उपायहरू लिइरहने आश्वासन दिए।

दुवै परराष्ट्रमन्त्रीले क्षेत्रमा जारी द्वन्द्व यथाशीघ्र अन्त्य हुने अपेक्षा व्यक्त गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button