हिजो गाविस जल्याे, आज सिंहदरबार जल्याे: उही पीडाको नयाँ विद्रोह

# पासाङ ल्हामु
नेपाली राजनीतिको गतिशीलता कहिल्यै एकनासको छैन। समय अन्तरालमा जनताको आक्रोशले नयाँ–नयाँ रूप लिइरहेको हुन्छ। त्यही आक्रोशले कहिले गाउँका गाविस भवनमा आगो लगाउँछ, कहिले राजधानीको सिंहदरबारसम्म पुगेर शक्ति केन्द्रमै चोट पुर्याउँछ। हिजो विद्रोहका नारा गाउँ–गाउँबाट उठ्थे, आज ती नारा सहरका सडक र गल्लीहरूमा गुञ्जिरहेका छन्। जलाउने हातहरू फरक होलान्, तर ती हातहरू उही पीडा बोकेका जनताका छोराछोरी हुन्।
दशकौंको शासकीय संरचना हेर्दा एउटा तीतो सत्य उजागर हुन्छ– राजतन्त्र ढल्यो, तर राजतन्त्रसँग घाटी जोडिएका पुराना शक्तिहरू ढलेनन्। कांग्रेस र एमालेजस्ता सुकिला–मुकिला पुँजीपति वर्गको हित संरक्षणमा केन्द्रित दलहरूले दशकौं शासन गरे। उनीहरूको शासनशैली र नियतमा कुनै परिवर्तन आएन। दशकौं सशस्त्र संघर्ष गरेर आएको माओवादी पार्टीले पनि यी स्थापित शक्तिहरूलाई समूल नष्ट गर्न सकेन। बरु, माओवादी नेतृत्व नै तिनै पुँजीपति शक्तिसँग मिसिएर जनतालाई थप निराश बनाउने पात्र बन्यो।
नेपालको राजनीतिक इतिहासमा दुई प्रकारका विद्रोह देखिन्छन्, एउटा ब्यालेटबाट र अर्को बुलेटबाट। कहिले मतपत्रका माध्यमबाट जनताले आफ्नो आक्रोश पोख्छन्, त कहिले हिंसात्मक संघर्षको बाटो रोज्छन्। तर दुवै अवस्थामा जनताको पीडा र चाहना भने उस्तै हुन्छ, परिवर्तनको चाहना।
हिजो माओवादी जनयुद्धको चरम उत्कर्षमा प्रचण्डको नाम सुन्दै मानिसहरू मृत्युसँग खेल्न तयार हुन्थे। पहिलो संविधानसभाको चुनावमा जनताले उम्मेदवारलाई नचिनेर, नदेखेरै पनि माओवादीको पक्षमा भोट हाले। त्यो विश्वास थियो परिवर्तनको एउटा ठोस विकल्पप्रतिको आशा। तर त्यो आशा पूरा भएन। माओवादी पनि सत्ताको भर्यांङ्गमा चढेपछि पुरानै शक्तिसँग घुलमिल भयो।
आज फेरि इतिहास दोहोरिएको छ। यसपटक जनताको आक्रोशको केन्द्र बनेका छन्, बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)। उही उत्साह, उही आशा र उही भरोसा जनताले यिनलाई दिएको देखिन्छ। जसरी हिजो माओवादीलाई नचिनीकन भोट हाले, आज बालेन र रास्वपालाई पनि ठीक त्यसरी नै जनताले अँगालेका छन्। कोही उत्तेजित हुनु पर्दैन, कोही चिन्तित हुनु पनि पर्दैन। यो लोकतन्त्रको स्वाभाविक प्रक्रिया हो।
वास्तवमा नेपाली लोकतन्त्रको सौन्दर्य के हो भने, यो संविधान र व्यवस्था जोगिएसम्म, जनताले जसलाई पनि शासनको जिम्मा दिन सक्छन्। कसैको अभिव्यक्ति क्षमता नभएको नेता भए पनि, प्रशासनिक अनुभव नभएको व्यक्ति भए पनि, जनताको विश्वास पाएपछि त्यो व्यवस्था र लोकतन्त्रले नै उसलाई सञ्चालित गर्छ। यो प्रणालीको सुन्दरता र बल दुवै हो।
तर प्रश्न उत्तिकै गम्भीर छ। के यसपटको विद्रोह हिजोको जस्तै बिलीन हुनेछ? के बालेन र रास्वपा पनि माओवादीजस्तै सत्ताको मोहमा पुरानै शक्तिसँग घुलमिल हुनेछन्? वा जनताले साँच्चै नयाँ नेपालको परिकल्पना गरेका छन्?
यो जनादेशको अर्थ बुझ्न जरुरी छ। जनताले बालेन र रास्वपालाई मात्र भोट दिएका छैनन्, उनीहरूले पुरानो शैलीको राजनीतिलाई इन्कार गरेका छन्। सुकिला–मुकिला पुँजीपति वर्गको राजनीति, अवसरवाद र भ्रष्टाचारप्रति जनताको आक्रोशले नयाँ मोड लिएको छ। सडकदेखि सदनसम्म, गाउँदेखि सिंहदरबारसम्म जनताको यो सन्देश पुगेको छ।
अबको दायित्व भनेको यो जनादेशलाई सार्थक बनाउनु हो। जित्ने शक्तिले जनताको अपेक्षाअनुसार सेवा प्रवाह, सुशासन र पारदर्शिता सुनिश्चित गर्नुपर्छ। हार्ने शक्तिहरूले आफ्नो गल्ती स्वीकार गर्दै जनताको सन्देश बुझ्नुपर्छ। लोकतन्त्रमा अन्तिम निर्णायक सधैं जनता नै हुन्।
यदि यसपटकको विद्रोहले मूर्त रूप लिन सकेन भने, फेरि एकपटक इतिहास दोहोरिनेछ। फेरि कुनै नयाँ बालेनको आगमन हुनेछ, फेरि कुनै नयाँ शक्तिले जनादेश पाउनेछ। तर जबसम्म नेपाली जनताको पीडाको सम्बोधन हुँदैन, तबसम्म विद्रोहको यो शृंखला निरन्तर चलिरहनेछ कुनै न कुनै रुपमा।





