१७ बैशाख २०८३, बिहीबार

चीनमा दुई हजार वर्ष पुराना टेराकोटा कारखाना भेटिए

काठमाडौं । चिनियाँ सामाजिक एकेडेमीको पुरातत्व अध्ययन केन्द्रको एक कार्यदलले सन् १९८९ मा सीआन सहरको शयाङ क्षेत्रको ल्यू छुन पाउ गाउँमा सर्वेक्षण गर्दा पश्चिमी हान वंशकालीन टेराकोटा उत्पादन गर्ने २१ वटा प्राचीन कारखानाका भग्नावशेष फेला पारेको थियो। सोही स्थानबाट चिनियाँ माटोबाट निर्मित हजारौं वस्तुहरू पनि प्राप्त भएका थिए। यी कारखाना र वस्तुहरूको इतिहास दुई हजार एक सय वर्षभन्दा पुरानो रहेको अनुमान गरिएको छ।

अध्ययनका अनुसार ती कारखाना सम्राट र सरकारका लागि टेराकोटा उत्पादन गर्ने सरकारी स्वामित्वका थिए। कारखानाको आकार ठूलो रहेको र उत्पादन क्षमता समेत उच्च रहेको पाइएको छ। तीमध्ये दुईवटा कारखानामा मात्र ३५० देखि ४०० वटासम्म टेराकोटाका नमूना भेटिएका थिए। यस हिसाबले ती २१ वटा कारखानाले एकैपटक ७,३५० देखि ८,४०० वटासम्म टेराकोटा उत्पादन गर्न सक्ने क्षमता राख्दथे।

उक्त स्थानबाट प्राप्त चिनियाँ माटोका टेराकोटा नमूनाहरूले तत्कालीन समयमा टेराकोटा निर्माणको विधिबारे जानकारी दिएका छन्। अध्ययनबाट के पुष्टि भएको छ भने पहिले नमूना तयार गर्ने र त्यसपछि मुखको भाग कुँद्ने गरिन्थ्यो। अधिकांश नमूनामा रङ नलगाइने भए पनि निर्माणपछि सेतो रङ लगाउने गरिन्थ्यो। यसअघि टेराकोटा नमूनालाई गोडा तल र टाउको माथि पारेर राखेर बनाउने गरिएको अनुमान गरिएकोमा भेटिएका अवशेषले यसरी राख्दा नमूना भत्किने गरेको पुष्टि गरेको छ। त्यसकारण ती नमूनालाई टाउको तल र गोडा माथि पारेर राख्ने गरिन्थ्यो।

तत्कालीन समयमा मजदुरहरूले आफूले बनाएको टेराकोटामा आफ्नो नाम कुँद्नुपर्ने नियम थियो। यसले उत्पादित टेराकोटाको मात्रा र गुणस्तर जाँच्न सहयोग गर्दथ्यो। यही अभिलेखका आधारमा हालसम्म कौं पिङ र कौं च्याङलगायत ८५ जना कलाकारको नाम पहिचान हुन सकेको छ।

विश्वकै सबैभन्दा ठूलो प्राचीन तामाको भाँडो
यसैबीच, सन् १९३९ को मार्चमा चीनको मध्य भागस्थित हनान प्रान्तको आनयाङ जिल्लाको ऊ कोन गाउँको उत्तरी क्षेत्रमा विश्वकै सबैभन्दा ठूलो प्राचीन तामाको भाँडो फेला परेको थियो। ‘स मु ऊ’ नाम दिइएको उक्त भाँडोको तौल ८७५ किलोग्राम रहेको छ। चारकुने उक्त भाँडोको उचाइ १३३ सेन्टिमिटर, लम्बाइ ११० सेन्टिमिटर र चौडाइ ७८ सेन्टिमिटर रहेको छ।

विज्ञहरूका अनुसार ‘स मु ऊ’ को अर्थ आमाको यज्ञ गर्नु हो। यो भाँडो चीनको शाङ वंशका सम्राट चु खाङले आफ्नी आमा पी ऊको यज्ञका लागि प्रयोग गर्ने गरेका थिए। यसअघि यति ठूलो तामाको भाँडो विभिन्न भाग छुट्टाछुट्टै बनाएर जोडेर तयार पारिएको अनुमान गरिएकोमा पछिल्लो अध्ययनले भने यसलाई एकैपटक ढलोट प्रविधिबाट बनाइएको निष्कर्ष निकालेको छ। यसको निर्माणअघि चिनियाँ माटोको प्रयोग गरी नमूना तयार गरिन्थ्यो। विभिन्न भागका नमूना बनाएर तिनलाई जोडेर एउटा पूरा नमूना तयार पारिन्थ्यो र अन्त्यमा त्यसमाथि ढलोट गरी यो विशाल तामाको भाँडो निर्माण गरिएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button