रुकुम पश्चिममा जनार्दन शर्माको अविछिन्न विजय यात्रा रोकियो, गोपाल शर्मा विजयी

काठमाडौं — संसदीय चुनावमा रुकुम पश्चिमबाट लगातार विजय हासिल गर्दै आएका नेता जनार्दन शर्माको लामो जीत यात्रामा यसपटक पूर्णविराम लागेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत फागुन २१ गते सम्पन्न मतदानको अन्तिम मतपरिणाम अनुसार उनलाई पराजित गर्दै उनकै पूर्व कार्यकर्ता गोपाल शर्मा विजयी भएका छन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार गोपाल शर्माले २१ हजार ६ सय ९ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनले आफ्ना पूर्व राजनीतिक गुरुका रूपमा चिनिने जनार्दन शर्मालाई पराजित गर्दै नयाँ राजनीतिक समीकरणको संकेत दिएका छन्।

यस निर्वाचनमा जनार्दन शर्मा भने तेस्रो स्थानमा सीमित भएका छन्। उनले नेकपा एमालेसँग गठबन्धन गर्दै चुनावी मैदानमा उत्रिए पनि १४ हजार ३ सय ४६ मत मात्र प्राप्त गर्न सके। उनीभन्दा अगाडि नेपाली कांग्रेसका उम्मेदवार राजु केसीले १६ हजार ६ सय ६१ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका छन्।

जनार्दन शर्मा यसपटक प्रचण्ड नेतृत्वको नेकपा परित्याग गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका थिए। विगतमा भने उनी प्रचण्ड नेतृत्वको तत्कालीन माओवादी केन्द्रबाट उम्मेदवार बन्दै रुकुम पश्चिममा लगातार विजय हासिल गर्दै आएका थिए।

२०६४ सालपछि भएको प्रत्येक निर्वाचनमा जित्दै आएका शर्माले यसपटक पहिलोपटक पराजय बेहोर्नु परेको हो।

रुकुम पश्चिममा कुल १ लाख ६ हजार ६ सय ६० मतदाता रहेकामा ६२ हजार ९ सय ६८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। यस नतिजाले जिल्लाको राजनीतिक शक्ति सन्तुलनमा नयाँ मोड आएको संकेत गरेको विश्लेषकहरूको भनाइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button