३ बैशाख २०८३, बिहीबार

न्यू डाँफेको गिर्दो यात्रा र ब्रदर्सको उदय

स्थानीय सरकार र न्यू डाँफे स्पोर्ट्स क्लबबीचको विवादास्पद यात्रा कहिलेसम्म?

खजुरा, बाँके । २०३८ सालमा स्थापना भएको न्यू डाँफे स्पोर्ट्स क्लबको यात्रा पछिल्लो समय विवाद र आर्थिक अनियमितताका कारण चर्चामा रहेको छ। स्थापनाकालमा सांस्कृतिक कार्यक्रम, नाटक मञ्चन र फुटबल प्रतियोगितामार्फत गाउँघरमा चिनारी बनाएको यस क्लबले पञ्चायती व्यवस्थापछि भने गलत दिशा लिएको स्थानीयवासी बताउँछन्।

सुरुवाती दिनमा क्लबले हरेक वर्ष बडादशैंको अवसरमा डीगाउँस्थित नेराप्राविमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरेको थियो। महाभारत र मुना-मदन जस्ता नाटक मञ्चन हुन्थे भने कलिमानसिंह ठकुरी, नन्दराम पौडेल, रनबहादुर सुनार, झुपबहादुर घर्ती, हाेम प्रसाद गिरी, बाबुसिंह पाण्डे र पदम खत्रीलगायत मुख्य पात्रको भूमिकामा देखिन्थे। पुष-माघ महिनामा फुटबल प्रतियोगिता र बेला-बेला लोकदोहोरी प्रतियोगिता पनि आयोजना गरिन्थ्यो। क्लबलाई त्यतिबेला सज्जल थापा, लालबहादुर थापा, शङ्कर गिरी, बालवीर थापा, लोकबहादुर खत्री, प्रेम केसी, एक्केबहादुर खत्री, डाइबर्नी राजु (बाेलाउने नाम), जयकला सुनार, यामबहादुर गुरुङ, सुरेश थापा र दीपककुमार पौडेलजस्ता युवाले सक्रियतापूर्वक अगाडि बढाएका थिए। यो क्रम २०४८ सालसम्म निरन्तर चलिरह्यो।

तर, पञ्चायती व्यवस्था ढलेकाे केही समयपछि देखि क्लबको गतिविधिमा विस्तारै विकृति देखिन थाल्यो। कार्यक्रमको नाममा स्थानीयबाट रकम सङ्कलन गर्ने र बचेको रकम रक्सी तथा मोजमस्तीमा खर्च गर्ने प्रवृत्ति बढेको स्थानीयको गुनासो छ। स्थानीय प्रशासनले पटकपटक बाेलाएर चेतावनी दिंदा पनि सुधार नभएपछि कानुनी कारबाही अघि बढाउँने क्रममा अन्तिम चेतावनी स्वरुप सार्वजनिक माफी माग्न लगाइ पटके कागज गराएर छाडिएको थियो। त्यसपछि क्लबलाई व्यवस्थित गर्न केदार गिरीलाई अध्यक्ष बनाइयो तर उनले मिटिङ बोलाउँदा नआउने र कुनै कार्यक्रम गराैं भन्दा साथ नपाएपछि दिक्क भएर पद छाडेका थिए।

क्लबले यसअघि आयोजना गरेको फुटबल प्रतियोगितामा उठाइएको रकममध्ये पाँच लाख रुपैयाँको हिसाबकिताब दिन नसकेको आरोप पूर्वसमितिमाथि लागेको छ। पछिल्लो समय यस्तो गतिविधिमा खजुरा गाउँपालिका समेत संलग्न रहेको स्थानीयको भनाइ छ। पटक-पटक दर्ता गर्ने तर नवीकरण नगरी पालिका र वडा कार्यालयबाट रकम लिने र मिलेमतोमा भ्रष्टाचार गर्ने प्रवृत्ति संस्थागत हुँदै गएको आरोप लाग्ने गरेको छ।

यही विकृतिविरुद्ध सन्देश दिन स्थानीय युवाहरूले ‘ब्रदर्स फुटबल क्लब’ अर्थात ब्रदर्स एफसी दर्ता गरेका छन्। स्थापनाकालदेखि नै विवादले घेरिएको न्यू डाँफे स्पोर्ट्स क्लब हालै सम्पन्न खजुरा गोल्डकपमा भारतीय फुटबल टोलीसँग १-० ले पराजित भएको थियो। पराजयपछि समाजसेवी प्रेमसागरले फेसबुकमा लेखेका थिए, “न्यू डाँफे स्पोर्ट्स क्लबको कडा प्रतिस्पर्धाका बीच १-० अन्तरको पराजयले दुःखी बनाएको छ। खेलाडीलाई अझ बढी तालिम र पोषिलो खानेकुराको व्यवस्थापन गरिनुपर्छ।” यसको प्रतिक्रियामा अनिल तिरुवाले लेखेका थिए, “पोषिलो खानेकुरा खेलाडीहरूलाई होइन, आयोजकहरूलाई खुवाउनुपर्छ। आँखा कमजोर भइसकेछ क्याहो। क्लबचाहिँ यताको अनि खेलाडीहरूचाहिँ कता-कताको लिने गर्छन्।”

यस्तै युवानेता नारायण खनाल लेख्छन् : खाने दाँत र देखाउने दाँत फरक रहेछ, सन्दर्भ फूटबलको। यसैगरी ब्रदर्सका काेपाध्यक्ष राकेश पाैडेल लेख्छन्: “आफ्नो खजुरा कप भएपछि खजुरा गा.पा काे खेलाडी हरु मैदान मा हुनुपर्छ। जस्तो लागछ। आफ्नो साेचाई मात्र है मेराे भाई।” यस्तै नरेन बिसी लेख्छन् : “आफ्नो गाउँपालिकाको यति धेरै र राम्रा खेलाडिलाई बिश्वास नगर्नु अर्थात नपत्याउनु र आफ्नो क्लबमा बाहिर बाट खेलाडी ल्याएर जितिन्छ भन्ने सोचका कारण आयोजक टिम नै पहिलो खेलमा पराजित हुन पुग्यो।” बाँकेका पहिलो लटका लाइसेन्स प्राप्त एन्फा रेफ्री भरत मल्ल “राजेश” ले प्रतिक्रिया जनाउँदै लेख्छन्: भाइ दात चबाउने देखाउने फरक त भयो तर खेल नमजा ले हारियो किन हो। यसैगरी, न्यू डाँफे स्पाेर्ट्स क्लबका अध्यक्ष बालाराम खत्रीले प्रतिक्रिया जनाउँदै लेखेका छन्: “खेलमा हारजित हुन्छ स्वभाबिक हो। तर यो खेल खेलाडिको नभयर खजुराका सिण्डीकेड धारी ३ जना राजनितिक बिचौलियाको खेल भो। जस्ले खजुरालाइ समाजसेवाको आड बोकेर खोक्रो बनाइरहेका छन समयमै बुझ्न जरुरि छ खजुरा ४ बासिले।”

ब्रदर्स एफसीले खजुरा गोल्डकपका लागि खेलमैदान व्यवस्थापन र स्वागतद्वार निर्माण गरेर सहयोग गरेको थियो। आयोजक न्यू डाँफेले ब्रदर्स एफसीलाई सौजन्यको हैसियत दिने भन्दै केहीबेर ब्यानर देखाएको र ब्रदर्स एफसीका कप्तान भरत घर्ती मगरलाई आयोजक टोलीबाट खेलाउने आश्वासन दिएको बताइन्छ। तर, उनलाई जगेडामा राखेर आफन्त र सिफारिसका खेलाडी खेलाउँदा पराजय भोग्नुपरेको स्थानीयको गुनासो छ। बाहिरबाट खेलाडी ल्याउने भन्दा स्थानीय ब्रदर्स एफसीकै हाेनहार खेलाडीहरु माेहित थापा, अभिषेक खड्का लगायतका खेलाडीलाई माैका दिएको भए आफ्नै खेलमैदानमा भारतीय कमजोर टीमबाट हार ब्यहाेर्नुपर्ने थिएन।

न्यू डाँफे स्पाेर्ट्स क्लबलाई प्रतिस्पर्धी नठानेर सँगसँगै हातेमालो गरेर अगाडि बढाैं, खजुराकाे एकता कायम गर्दै यसक्षेत्रका युवाहरूलाई सक्रिय सहभागी गराउँदै खजुराकाे खेल क्षेत्रको प्रगति गराै साथै समाजसेवा गराै भन्ने उद्देश्य लिएको क्लबकाे सहयोगलाई लत्याएर आयाेजककाे निहित स्वार्थसिद्ध गर्ने साेचबाट दिक्क भएका ब्रदर्स एफसीका अध्यक्ष विवेकसागर पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, “यो न्यू डाँफे मात्रको टिम होइन भन्ने बुझ्न जरुरी छ! खजुरामा के खेलाडी नै छैनन् र? के खजुराले खेलाडी नै उत्पादन गर्न नसकेको हो र?” स्मरण रहाेस्, ब्रदर्सका अध्यक्षले खजुरा गाेल्डकपकाे सफलताको शुभकामना ब्यक्त गर्दै पच्चीस हजार पाँच सय पचपन्न रुपैयाँ सहयोग गरेका थिए।

स्थानीय सरकार र न्यू डाँफे स्पोर्ट्स क्लबबीचको यो विवादास्पद यात्रा कहिलेसम्म जारी रहन्छ भन्ने प्रश्न भने स्थानीयबीच उत्तिकै चासोको विषय बनेको छ।

– ड्रागन मिडिया सम्वाददाता

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button