३ बैशाख २०८३, बिहीबार

टाइमको सूचीमा बालेन : भूराजनीतिको नयाँ मोहरा वा सन्देश?

# प्रेम सागर पाैडेल

अमेरिकी पत्रिका ‘टाइम’ ले सन २०२६ का लागि सार्वजनिक गरेको ‘विश्वका सय प्रभावशाली व्यक्तित्व’ को सूचीमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको नाम समावेश भएपछि नेपाली राजनीतिक वृत्त र सामाजिक सञ्जालमा यसले व्यापक चर्चा पाएको छ। तर, यो सूचीकरणलाई केवल व्यक्तिगत उपलब्धिको रूपमा मात्र हेर्नु अपुरो हुन्छ। अन्तर्राष्ट्रिय सम्बन्ध र भूराजनीतिको गहिराइबाट विश्लेषण गर्दा यो सूचीकरण पश्चिमा शक्तिकेन्द्रहरूको एउटा सोचीसम्झी गरिएको रणनीतिक सन्देश भएको सङ्केत मिल्छ। यसको पछाडि दक्षिण एसियाको शक्ति सन्तुलन, चीन र भारतको आन्तरिक स्थायित्वप्रति पश्चिमा चासो, र नेपाललाई ‘बफर जोन’ को रूपमा प्रयोग गर्ने पुरानो मनसायको छाया देखिन्छ।

विगत दशकहरूमा चीन र भारतले हासिल गरेको आर्थिक प्रगति र आन्तरिक राजनीतिक स्थिरताले पश्चिमा शक्तिहरूलाई चकित मात्र बनाएको छैन, अपितु एउटा रणनीतिक असहजता पनि सिर्जना गरेको छ। दुई अर्बभन्दा बढी जनसङ्ख्या भएका यी दुई मुलुकले आन्तरिक विद्रोह, पृथकतावादी आन्दोलन वा गम्भीर राजनीतिक अस्थिरताबिना नै निरन्तर आर्थिक उन्नति गरिरहनु पश्चिमा विश्लेषकहरूका लागि एउटा ‘अप्रत्याशित सफलता’ हो। पश्चिमा मिडिया र रणनीतिकारहरूका लागि यो स्थायित्व एउटा चुनौती हो, किनकि अस्थिरता नै उनीहरूको प्रभाव विस्तारको मुख्य औजार हो।

यसै सन्दर्भमा तिब्बतको मुद्दा पश्चिमा शक्तिहरूका लागि एउटा ‘रणनीतिक सम्पत्ति’ को रूपमा रहेको छ। तिब्बतलाई चीनको आन्तरिक मामिला भएको विश्वको अधिकांश मुलुकहरूले स्वीकार गरे पनि पश्चिमा खेमाले यसलाई चीनको आन्तरिक शान्ति खल्बल्याउने एउटा माध्यमका रूपमा प्रयोग गरिरहेको छ। नेपाल र चीनबीचको चाैधसय भन्दाकढी किलोमिटर लामो सीमा र नेपालमा रहेको तिब्बती समुदायको उपस्थितिलाई पश्चिमाहरूले सधैं ‘चीनको पछाडिको ढोका’ को रूपमा हेर्दै आएका छन्। हुँदै नभएको ‘बफर जोन’ को परिकल्पना गर्नुको पछाडि पनि यही रणनीतिक सोच छ। यसको स्पष्ट अर्थ नेपाललाई चीनविरुद्ध प्रयोग गर्न सकिने सम्भावित मोर्चाका रूपमा विकास गर्नु हो।

प्रधानमन्त्री बालेन्द्र शाहको उदय नेपाली राजनीतिको परम्परागत ढर्राभन्दा भिन्न रहेको छ। पुराना दलहरूको विकल्पका रूपमा उदाएको यो नयाँ शक्तिले पश्चिमा रणनीतिकारहरूको ध्यान तान्नुको मुख्य कारण यसको सम्भावित ‘डोमिनो इफेक्ट’ हो। यदि नेपालजस्तो सानो तर भूराजनीतिक रूपमा संवेदनशील मुलुकमा नयाँ राजनीतिक धार सफल भयो भने यसले चीन र भारतभित्र पनि त्यस्तै प्रवृत्तिलाई प्रोत्साहन दिन सक्ने आकलन पश्चिमाहरूले गरेको देखिन्छ। विशेषगरी, भारतमा पुराना राजनीतिक दलहरूप्रति बढ्दो वितृष्णा र चीनमा युवा पुस्ताको बदलिँदो आकाङ्क्षालाई लक्षित गरी यस्तो सन्देश प्रवाहित गर्न खोजिएको हुन सक्छ।

तर, यो आँकलनमा एउटा आधारभूत कमजोरी छ। नेपालको राजनीतिक परिवर्तन नेपालकै आन्तरिक सामाजिक-आर्थिक गतिशीलताको उपज हो। यसलाई चीन वा भारतको राजनीतिमा यान्त्रिक रूपमा दोहोरिने प्रक्रियाका रूपमा हेर्नु भ्रामक हुनेछ। चीनको राजनीतिक प्रणाली र सामाजिक संरचना नेपालभन्दा मौलिक रूपमा भिन्न छ। चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वप्रति चिनियाँ जनताको विश्वास र समर्थन विभिन्न स्वतन्त्र सर्वेक्षणहरूले पटक-पटक पुष्टि गरिसकेका छन्। त्यस्तै, भारतको लोकतान्त्रिक प्रणालीले पनि आफ्नै गतिमा राजनीतिक परिवर्तनको प्रक्रिया अघि बढाइरहेको छ।

टाइम पत्रिकाको सूचीमा रहेका अन्य नामहरूलाई हेर्दा ‘प्रभावशाली’ शब्दको पश्चिमा परिभाषा कति विवादास्पद र दोहोरो मापदण्डले भरिएको छ भन्ने प्रस्ट हुन्छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, जसको नेतृत्वमा गाजा क्षेत्र ध्वस्त पारियो र हाल लेबनानमा सैन्य आक्रमण जारी छ। उनी उक्त सूचीको नवौं स्थानमा रहेका छन्। यसैगरी, “इरानलाई ढुङ्गे युगमा पुर्याइदिन्छु” भन्ने अभिव्यक्ति दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चौथो स्थानमा रहेका छन्। यी नामहरूले ‘प्रभावशाली’ भन्नाले मानवताको हितमा योगदान गर्ने व्यक्तित्व नभई विश्व राजनीतिमा विघटनकारी र विवादास्पद भूमिका खेल्ने पात्रहरू पनि पर्न सक्ने वास्तविकता उजागर गर्छ।

यस परिप्रेक्ष्यमा बालेन्द्र शाहको नाम सोही सूचीमा राखिनुले उनको व्यक्तित्वको प्रशंसा मात्र नभई पश्चिमा शक्तिकेन्द्रहरूको एउटा रणनीतिक सन्देशको सङ्केत गर्छ। यो सन्देश के हो भने नेपालजस्तो रणनीतिक रूपमा महत्त्वपूर्ण मुलुकको नयाँ नेतृत्वलाई हामी नजिकबाट नियालिरहेका छौं र आवश्यकता अनुसार प्रयोग गर्न सक्छौं।

यस्तो अन्तर्राष्ट्रिय परिवेशमा नेपालले आफ्नो राष्ट्रिय हितलाई सर्वोपरि राखेर सन्तुलित र स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्नु अपरिहार्य छ। दुई ठूला र उदीयमान शक्ति राष्ट्र चीन र भारतबीच अवस्थित नेपालले कुनै पनि तेस्रो पक्षको भूराजनीतिक खेलमा मोहरा बन्नु हुँदैन। नेपालको विकास र समृद्धिको मार्ग भनेको चीन र भारतसँगको पारस्परिक सम्मान र लाभमा आधारित सहकार्यबाट मात्र सम्भव छ।

बालेन्द्र शाहको नेतृत्वले यदि नेपालको आन्तरिक राजनीतिक सुधार र आर्थिक विकासमा केन्द्रित रहेर काम गर्न सक्यो भने यो साँच्चिकै सकारात्मक परिवर्तन हुनेछ। तर, यदि पश्चिमा शक्तिहरूको रणनीतिक चासोको केन्द्र बनेर नेपालको परराष्ट्र नीति प्रभावित भयो भने यसले नेपालको दीर्घकालीन हितलाई क्षति पुर्याउन सक्छ।

टाइम पत्रिकाको सूचीमा बालेन्द्र शाहको नाम समावेश हुनु एउटा अन्तर्राष्ट्रिय घटना हो। जसलाई सकारात्मक र नकारात्मक दुवै दृष्टिकोणबाट हेर्न सकिन्छ। तर, यसको पछाडिको भूराजनीतिक अर्थ र पश्चिमा शक्तिहरूको रणनीतिक चासोलाई बुझ्नु नेपाली नीति निर्माताहरूका लागि अत्यन्त जरुरी छ। नेपालले आफ्नो भौगोलिक अवस्थितिलाई अभिशाप होइन, अवसरका रूपमा प्रयोग गर्दै चीन र भारतसँग सन्तुलित र पारस्परिक लाभदायक सम्बन्ध विकास गर्नु नै बुद्धिमानी हुनेछ। पश्चिमा सूचीकरणको चमकमा भुल्नुभन्दा देशको सार्वभौमिकता, स्वाभिमान र विकासको मूल बाटोमा केन्द्रित रहनु नै नेपाल र नेपाली जनताको हितमा हुनेछ।

लेखक: प्रेम सागर पौडेल नेपालका वरिष्ठ पत्रकार र अन्तर्राष्ट्रिय सम्बन्ध विश्लेषक हुनुहुन्छ। उहाँले नेपाल-चीन सम्बन्ध, हिमालय क्षेत्रको भू-राजनीति, र एसियाली सुरक्षा मुद्दाहरूमा गहन अध्ययन गर्नुभएको छ।

 

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button