रास्वपामा सत्ता समीकरण: बालेन प्रधानमन्त्री बन्ने सहमतिमै अन्योल, नेताहरूबीच ‘हो’ र ‘होइन’ को दोसाँध

काठमाडौं: फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अपेक्षाभन्दा उत्कृष्ट नतिजा हात पारेको छ। सभापति रवि लामिछाने र काठमाडौं महानगरका पूर्वमेयर बालेन्द्र साह (बालेन) को संयुक्त प्रभावले पार्टीलाई ऐतिहासिक सफलता मिलेको विश्लेषण भइरहेको छ। तर, यही सफलताको खुसीयालीमा रंगिएको रास्वपा भित्र अहिले सत्ता नेतृत्वलाई लिएर गम्भीर अन्योल सुरु भएको छ।
पुस १३ गते रवि लामिछाने र बालेन्द्र साहबीच भएको सात बुँदे सहमति अहिले पार्टीभित्रको सबैभन्दा ठूलो बहसको विषय बनेको छ। उक्त सहमतिको चौथो बुँदामा स्पष्ट उल्लेख छ– “राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र साह हुने।” तर, चुनावी परिणाम आएसँगै यो सहमति कार्यान्वयनको बाटोमा धेरै प्रश्नचिह्न देखापरेका छन्।
बालेन्द्रनिकट नेता अशिम शाहले आइतबार सार्वजनिक रूपमा दिएको अभिव्यक्तिले यो अन्योललाई थप चर्काएको छ। सामाजिक सञ्जालमा उनले लेखेका छन्, “मन्त्री बन्न दौडधूप गर्न, भनसुन गर्न वा मिडिया ट्रायल गर्न आवश्यक छैन। जब बालेन साह प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुहुन्छ, उहाँले आफ्नो क्याबिनेट टिम आफैं छनोट गर्नुहुनेछ। उहाँलाई सबै सांसदहरूको योग्यता र क्षमता राम्रोसँग थाहा छ।” तर, भर्खरै निर्वाचित सांसदहरूको क्षमता यति चाँडै कसरी मूल्यांकन गरियो भन्ने प्रश्न उठेको छ।
चुनावी अभियानकै क्रममा बालेन्द्रले पार्टी नेता ज्वाला संग्रौला र सुनसरी–२ का उम्मेदवार लालविक्रम थापालाई नचिनेको भिडियो सार्वजनिक भएको थियो। अछाममा ज्वालालाई नचिनेका उनले सुनसरीमा आफ्नै पार्टीका उम्मेदवारले माला लगाइदिँदा समेत अस्वीकार गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको थियो। यस्तो अवस्थामा उनले सबै सांसदको क्षमता र योग्यता राम्रोसँग बुझेको दाबी गर्नुले थप प्रश्न जन्माएको छ।
पार्टीभित्र प्रधानमन्त्रीको उम्मेदवारबारे मतभेद देखिन थालेको छ। उपसभापति डीपी अर्यालले तीन दिनअघि काठमाडौंमा बोल्दै भने, “त्यो कागजमा के लेखिएको छ, हेर्नुपर्ला। मलाई अहिले ठ्याक्कै याद छैन। संसदीय दल बनेपछि त्यसले गर्ने निर्णय सबैले मान्नुपर्छ।” उनले विजय र्यालीका क्रममा समेत सहमतिबारे आफूलाई स्पष्ट जानकारी नभएको बताएका थिए। यसैगरी, उनले विजयी सांसद र समानुपातिक सूचीमा रहेका उम्मेदवारहरूलाई तत्काल ‘बालेन हाम्रो प्रधानमन्त्री’ भनेर सार्वजनिक अभिव्यक्ति नदिन आन्तरिक निर्देशन दिएको खबर बाहिरिएको छ।
अर्कोतर्फ, सभापति रवि लामिछाने पनि यस विषयमा प्रष्ट बोल्न टारिरहेका छन्। चितवनमा पत्रकारहरूले “अब पाँच वर्ष बालेन नै प्रधानमन्त्री हुन्छन् त?” भनी सोधेको प्रश्नमा उनले प्रत्यक्ष उत्तर नदिई विषय परिवर्तन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
चुनावी अभियानमा ‘बालेन सरकार’ को नारा दिएर मत माग्ने र परिणाम आएपछि उनै बालेनको नाम लिन हिचकिचाउने प्रवृत्तिले रास्वपाभित्र आन्तरिक कलह र असमञ्जस्यता बढेको संकेत गरेको छ। यद्यपि निर्वाचन आयोगले अझै अन्तिम परिणाम सार्वजनिक गरिसकेको छैन। परिणाम आएपछि मात्र संसदीय दलको नेता चयन प्रक्रिया सुरु हुनेछ।
यदि पुस १३ को सहमतिअनुसार बालेन्द्र सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन भएमा उनी प्रधानमन्त्री बन्ने बाटो खुल्छ। तर, अन्य सांसदले प्रतिस्पर्धा गर्न चाहेमा संसदीय दलभित्र नै निर्वाचन हुनुपर्ने अवस्था छ। अब हेर्न बाँकी छ, रास्वपा चुनावअघिको सहमतिअनुसार अघि बढ्छ, वा नयाँ समीकरणले जन्म दिन्छ।





