‘स्यालरी र गाडी नलिने’ भनेका सुधन सांसद बने, अब के गर्लान ?

काठमाडौं : भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा पानी बाँड्दै हिँडेका युवा सुधन गुरुङ अहिले माननीय सांसद बनेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएसँगै उनको पुरानो भिडियो एकाएक भाइरल भएको छ, जहाँ उनले नेता र मन्त्रीहरूको सुविधामाथि प्रश्न उठाएका थिए।
प्रदर्शनपछिको पत्रकार सम्मेलनमा उनले भनेका थिए, “नेताको स्यालरी छोड्दिम ल ! नराख्दिम ल ! मन्त्रीहरूको गाडी लाइन नै हुन्छ। ट्ँयाट्ँया र टुटु गर्छ, अब पाएन यिनीहरूले। कसैले गर्न पाएन। अब यो नेपाली जनताको राज हो।”
तर, उनै सुधन अब सांसद भइसकेपछि सामाजिक सञ्जालमा एउटै जिज्ञासा छ – ‘बोलेको कुरा पुरा हुन्छ कि हुँदैन ?’ उनले आफैं तलब लिन्छन् कि लिँदैनन् ? गाडी चढ्छन् कि चढ्दैनन् ? हेर्न बाँकी छ।
रास्वपाले बहुमतको सरकार बनाउने लगभग पक्का भइसकेको छ। यस्तो अवस्थामा हिजो सडकमा उत्रिएर बोलेका कुरा आज सत्तामा पुग्दा कार्यान्वयन हुने हो कि होइन भन्ने चासो जनतामा देखिएको छ।
सामाजिक सञ्जाल प्रयोगकर्ता राजाराम गौतमले लेखेका छन्, “माननीयज्यू, बोलेको पुर्याउनुपर्छ ल ! ताल्चा–साँचो हजुरहरूकै हातमा छ।”
त्यस्तै, निर्मल श्रेष्ठले व्यङ्ग्य गर्दै भनेका छन्, “उहाँलाई हेलिकप्टर चाहिएको होला। गाडीलाई ट्ँया–ट्ँया र टुटु गर्छ भन्दै छ।”
प्रकाशराज थापाले भने झन् सीधै माग राखेका छन् – “ल ल अब मन्त्री र सांसदको तलब बन्द गर है त।”
‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका संस्थापक समेत रहेका सुधनको यो भिडियोले अहिले रास्वपाप्रति जनताको अपेक्षा र सत्तामा पुग्दाको जिम्मेवारीबीचको दूरी के हुने भन्ने बहस सुरु गरेको छ। अब हेर्न बाँकी छ, सुधन गुरुङले ‘स्यालरी र गाडी नलिने’ आफ्नो अभिव्यक्तिलाई सदनभित्र कसरी अघि बढाउँछन्।





