विष्णु पौडेलको व्यथा : हारको पीडा कि नेतृत्वप्रति प्रश्न ?

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही क्षेत्र नम्बर २ मा भएको पराजयपछि पार्टीको नीति तथा नेतृत्व परिवर्तनको आवश्यकता औंल्याएपछि पार्टीभित्र र बाहिर चर्को बहस सुरु भएको छ। आफू निर्वाचित हुन नसकेपछि पत्रकारसँगको कुराकानीमा पौडेलले उठाएका प्रश्नहरूले पार्टीका पुराना नेता लालमणि न्यौपानेको तीखो विश्लेषणात्मक समीक्षा निम्त्याएको छ।

न्यौपानेले पौडेलसमक्ष राखेका जिज्ञासाहरू एमालेको आन्तरिक राजनीति र नेतृत्व दर्शनमाथि गहिरो प्रहार गर्ने खालका छन्। उनको विश्लेषणलाई आधार मान्दा, पौडेलको भनाइमा धेरै विरोधाभास र अपूर्णता देखिन्छ।

नीति कि नेतृत्व : के हो मूल प्रश्न?

न्यौपानेको पहिलो प्रश्न नै सबभन्दा मौलिक छ– नीति परिवर्तन र नेतृत्व परिवर्तनमध्ये कुनमा गुरुत्वाकर्षण (ग्राभिटी) बढी छ? उनको विचारमा नीति परिवर्तनको आयु नेतृत्व परिवर्तनभन्दा लामो हुन्छ। तर पौडेलको फोकस कुनमा छ भन्ने अन्योल छ।

२३/२४ गतेपछि के परिवर्तन भयो?

न्यौपानेले भदौ २३ र २४ गते घटनाको स्मरण गराउँदै सोधेका छन्– त्यसपछि भएको महाधिवेशनमा पौडेलले नीति र नेतृत्व परिवर्तनको कुनै विचार दस्तावेज प्रस्तुत गरेका थिए कि थिएनन्? महाधिवेशनको निर्णयमा कतै असहमति जनाएका थिए कि थिएनन्? यदि जनाएनन् भने के त्यो अवसरको लागि गरिएको सम्झौता मात्र थियो?

नीति परिवर्तन हो भने कता परिवर्तन?

न्यौपानेले नीति परिवर्तनको दायरालाई पनि विस्तृत रूपमा केलाएका छन्:

· रणनीति, कार्यनीति, कार्यक्रम, कार्यशैली, नेतृत्व छनोटको विधि (भर्टिकल वा होराइजन्टल), अवसर प्राप्तिको विधि, आन्दोलन छनोट (शान्तिपूर्ण जनआन्दोलन वा अन्य) र नेतृत्वको कार्यकालको विधिमा कस्तो परिवर्तन चाहिन्छ?
· यदि नेतृत्व परिवर्तन नै मुद्दा हो भने, कुन तहको नेतृत्वमा परिवर्तन लागू गर्ने? शीर्ष तह, सचिवालय, पोलिटब्युरो वा पुस्तागत तहमा?

हारेपछि मात्रै किन प्रश्न?

न्यौपानेको सबैभन्दा चर्को प्रश्न यही हो– आमनिर्वाचनको परिणाम देखिने वित्तिकै र आफू निर्वाचित नहुने वित्तिकै किन नेतृत्व परिवर्तनको मुद्दा उठाइयो? २३/२४ गतेको घटनापछि लगानीकर्ता र शक्तिको अग्रभाग-पश्चभाग के हो भन्ने सबैलाई थाहा भइसकेको अवस्थामा पनि पार्टीभित्रको शीर्ष नेतृत्वलाई मात्र किन दोषी बनाइँदैछ?

व्यक्तिगत असन्तुष्टि कि वैचारिक टकराव?

न्यौपानेले पौडेललाई सम्झाएका छन्– तपाईं आफैं पनि लामो समयदेखि पार्टी र सरकारमा संवैधानिक पदहरूमा रहनुभएको छ। सदस्य, सचिव, महासचिव, उपाध्यक्ष, सांसद, उपप्रधानमन्त्री र तीन पटक अर्थमन्त्रीसम्म भइसक्दा सबै ठिक थियो, हारेपछि मात्रै सबै बेठिक भएको हो? यस्तो भाष्य किन निर्माण गरिँदैछ?

उनले अगाडि प्रश्न गरेका छन्– नेतृत्वले कार्यकर्ताको मनोबल उठाउनुपर्ने बेला उनीहरूलाई किन विभाजन गर्न खोजिएको छ? नेतृत्व परिवर्तन गर्ने हो भने त्यो परिवर्तन पौडेल आफैंबाट सुरु गर्नुपर्नेमा उनले जोड दिएका छन्।

अन्तिम चेतावनी : जनताको चित्त कसरी बुझाउने?

न्यौपानेको विश्लेषणको निष्कर्षमा उनले पौडेललाई आग्रह गरेका छन्:

· नीति परिवर्तन हो भने केन्द्रीय बैठक माग गरेर समीक्षा गर्नुस्, उपयुक्त नीति निर्माण गर्नुस्।
· नेतृत्व परिवर्तनको कुरा मात्र गर्ने हो भने कांग्रेसले नेतृत्व परिवर्तन गरेर के लाभ पाएको छ, हेर्नुस्।
· औंला अरूतिर मात्र नदेखाएर आफूतिर पनि देखाउनुस्।
· दलको नाम अनुसारको आचरण, जीवनशैली र कार्यशैली अपनाउनुस्।
· जनताको बीचमा पुगेर उनीहरूको हितका मुद्दा उठाउनुस्, अन्यथा सक्रिय राजनीतिबाट विश्राम लिनुस्।

उनले आगामी दिनमा २०६० सालपछि जन्मिएको डिजिटल पुस्ता कसैको बलिदानको इतिहास हेरेर मत नदिने चेतावनी समेत दिएका छन्। त्यो पुस्ता निराशाको जगमा उभिएर राजनीतिमा प्रवेश गरेको र नकारात्मक विन्दुबाट यात्रा सुरु गरेको उनको भनाइ छ।

के विष्णु पौडेलले उठाएको मुद्दा पार्टी सुधारको वैचारिक जग हो, वा व्यक्तिगत महत्वाकांक्षाको प्रतिबिम्ब? यसको जवाफ आगामी दिनमा एमालेको आन्तरिक राजनीतिले दिनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button