इनिसा हत्याकाण्ड: ६ दिन बित्यो, शव बुझ्न अस्वीकार, आमाको आक्रोश- न्याय चाहिन्छ, शव बुझ्दैनौं

सुर्खेत – सुर्खेतकी १६ वर्षीया बालिका इनिसा विकको बलात्कारपछि हत्या भएको भनिएको आज ६ दिन पूरा भएको छ। उषा बालवाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिसाको घरपरिवार र आफन्तले उनको सामूहिक बलात्कार भएको आरोप लगाउँदै शव बुझ्न अस्वीकार गरेका छन्। उनको शव प्रदेश अस्पतालको शवगृहमा राखिएको छ।
२३ गते बिहान ट्युसन पढ्न घरबाट निस्किएकी इनिसाको पोस्टमार्टम रिपोर्टले यौनांगको भित्री र बाहिरी भाग च्यातिएकै कारण अत्यधिक रगत बगेर मृत्यु भएको पुष्टि गरेको छ। भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फरेन्सिक विभाग अधिकृत डा. अर्विन शाक्यले भने, “अत्यन्तै हिंसात्मक प्रकृतिको यौनसम्पर्क भएको देखिन्छ। सामूहिक बलात्कार हो भन्ने तथ्य भने भेटिएको छैन। नशालु औषधि प्रयोग भए/नभएको परीक्षणका लागि रगत विधिविज्ञान प्रयोगशाला पठाइएको छ।”
यस घटनामा मुख्य अभियुक्त इनिसाका प्रेमी रहेको बताइएको १६ वर्षीय किशोरले प्रहरीमा दिएको बयानमा भनेका छन्, “हामी दुई वर्षदेखि शारीरिक सम्पर्कमा थियौं। त्यो दिन पनि हामी सल्लाह गरेरै सहिद पार्क नजिकैको जंगलमा गएका थियौं। इनिसाका लागि काँटा चुरा लगायत उपहार पनि लगेको थिएँ। शारीरिक सम्पर्कपछि इनिसाको यौनांगबाट अत्यधिक रगत बग्न थाल्यो र उनी बेहोस भइन्। म आत्तिएर मिल्ने साथीहरूलाई फोन गरेँ। तीन जना साथी आएपछि उनीहरू स्थानीयलाई खबर गर्न गाउँ गए। गाउँले आएपछि मात्र प्रहरीलाई ९:४५ बजे खबर गरियो।” उनले साथीहरूसँग सहयोग मात्र मागेको र सामूहिक बलात्कार नभएको दाबी गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले घटनामा संलग्न चार जनालाई पक्राउ गरी जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए। उनले भने, “घटनास्थल पुग्दा इनिसाको शरीरमा कपडा थिएन, रगतले भिजेको अवस्थामा उनी अचेत थिइन्। समयमै अस्पताल पुर्याउन नसक्दा र खबर ढिला भएकाले ज्यान गएको हो।”
छोरीको मृत्युपछि शोकाकुल आमा तिला विकले भनिन्, “बिहान ६ बजे निस्केकी छोरी ९ बजेसम्म नफर्केपछि मैले ट्युसन शिक्षक र साथीभाइ सबैलाई फोन गरिसकेकी थिएँ। १० बजे प्रहरीले जंगलमा छोरी अचेत अवस्थामा रहेको खबर दियो। घटनास्थल पुग्दा छोरीको शरीरमा कपडा थिएन, तल्लो भाग रगतले लतपतिएको थियो। शरीरमा चोटका निशान थिए। मेरो छोरीलाई सामूहिक बलात्कारपछि हत्या गरिएको छ। न्याय नपाएसम्म शव बुझ्दैनौं।”
यस घटनाको दिन इनिसा र उनका प्रेमी जनजागरण सामुदायिक वनमा हात समाएर हिँडिरहेको सीसीटीभी फुटेजमा कैद भएको छ। गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी इनिसा वीरेन्द्रनगर–१ मा बस्दै आएकी थिइन्।





