मध्यपूर्वमा तत्काल युद्धविराम आवश्यक : चिनियाँ विदेशमन्त्री वाङ यी

बेइजिङ – चिनियाँ विदेशमन्त्री वाङ यीले मध्यपूर्वमा जारी द्वन्द्वमा संलग्न पक्षहरूलाई सकेसम्म चाँडो सैन्य कारबाही रोक्न र स्थिति थप बिग्रन नदिन आग्रह गर्न सबै पक्षसँग आह्वान गरेका छन्। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्यसमेत रहेका वाङ यीले बिहीबार इजिप्टका विदेशमन्त्री बद्र अब्देलअत्तीसँग टेलिफोन वार्तामा यो अपिल गरेका हुन्।
अब्देलअत्तीले वार्ताका क्रममा वाङ यीलाई क्षेत्रीय अवस्था र इजिप्टको धारणाबारे जानकारी गराउँदै वर्तमान युद्धप्रति आफ्नो देशको गहिरो चिन्ता व्यक्त गरे। संयुक्त राष्ट्र सुरक्षा परिषद्ले हालै पारित गरेको प्रस्तावलाई उल्लेख गर्दै इजिप्टले सबै पक्षलाई संयमता अपनाउन र क्षेत्रीय अस्थिरताबाट बच्न आग्रह गरेको उनले बताए।
इजिप्टले चीनको सन्तुलित र निष्पक्ष धारणा तथा यसले खेलेको महत्त्वपूर्ण भूमिकाको उच्च प्रशंसा गर्ने र स्थिति सकेसम्म चाँडो शान्त पार्न चीनसँग निकट सम्पर्क कायम राख्न इच्छुक रहेको उनले उल्लेख गरे।
वाङ यीले चीनको सैद्धान्तिक धारणा दोहोर्याउँदै भने, “चीन र इजिप्ट जिम्मेवार राष्ट्रका रूपमा क्षेत्रीय मुद्दाहरू वार्ता र परामर्शमार्फत समाधान गर्ने पक्षमा छन् र हतारमा बल प्रयोग गर्ने विरोध गर्दछौं।” मध्यपूर्वमा लामो समयसम्म द्वन्द्व जारी रहँदा स्थानीय जनताले थप पीडा भोग्नुपर्ने, क्षेत्रीय अर्थतन्त्रमा ठूलो भार पर्ने र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सुरक्षा र स्थिरता थियो कमजोर हुने उनले बताए।
तत्काल युद्धविराम अन्तर्राष्ट्रिय समुदायको व्यापक सहमति रहेकोमा जोड दिँदै वाङ यीले चीन इजिप्टलगायत क्षेत्रीय राष्ट्रहरूसँग सम्पर्क र समन्वय कायम राख्दै शान्तिका लागि रचनात्मक भूमिका निर्वाह गर्न तयार रहेको बताए।





