युद्ध रोक्ने जिम्मा अमेरिका र इजरायलकै हातमा : चिनियाँ राजदूत फु कोङ

संयुक्त राष्ट्रसंघ, न्यूयोर्क – चीनले खाडी क्षेत्रको बिग्रँदो अवस्था रोक्न अमेरिका र इजरायलले तुरुन्त सैन्य कारबाही बन्द गर्नुपर्ने माग गरेको छ। बुधबार संयुक्त राष्ट्र सुरक्षा परिषद्मा इरानसम्बन्धी मस्यौदा प्रस्तावमा मतदानपछि आफ्नो धारणा राख्दै चिनियाँ स्थायी प्रतिनिधि फु कोङले यो कुरा बताएका हुन्।

“चीन खाडी क्षेत्रमा द्रुत रूपमा बढ्दै गएको परिस्थितिबाट गहिरो चिन्तित छ, जसले सम्पूर्ण मध्यपूर्वलाई खतरनाक खाडालमा धकेल्ने जोखिम बोकेको छ,” फु कोङले भने।

उनले थपे, “सुरक्षा परिषद्को अधिकारबिना र इरान–अमेरिकाबीच वार्ता जारी रहेकै बीच अमेरिका र इरानले गरेको सैन्य आक्रमण संयुक्त राष्ट्र बडापत्रको सिद्धान्त र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताको स्पष्ट उल्लङ्घन हो। यस युद्धको सुरुवातमा न्यायोचितता र वैधानिकताको अभाव छ। यसको निरन्तरताले हानिबाहेक केही दिने छैन।”

चिनियाँ राजदूतले खाडी अरब राष्ट्रहरूको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको पूर्ण सम्मान हुनुपर्नेमा जोड दिँदै भने, “यस सन्दर्भमा चीन इरानद्वारा खाडी अरब राष्ट्रमाथिको आक्रमणको समर्थन गर्दैन र निर्दोष नागरिक तथा गैरसैन्य लक्ष्यहरूमाथि भएका सबै प्रकारका आक्रमणको निन्दा गर्दछ।”

चीनले खाडी अरब राष्ट्रहरूको राष्ट्रिय सुरक्षाको वैधानिक मागको समर्थन गर्ने, उनीहरूको संयमताको प्रशंसा र समर्थन गर्ने तथा क्षेत्रीय राष्ट्रहरूले कूटनीतिक माध्यमबाट विवाद समाधान गर्न गरिरहेको निरन्तर प्रयासलाई समर्थन गर्ने बताउँदै फु कोङले बहराइनले खाडी सहयोग परिषद् र जोर्डनको तर्फबाट प्रस्तुत गरेको मस्यौदा प्रस्तावलाई चीनले महत्त्व दिएको उल्लेख गरे।

“हामीले रचनात्मक रूपमा छलफलमा भाग लियौं। दुर्भाग्यवश, मस्यौदा प्रस्तावले द्वन्द्वको मूल कारण र समग्र चित्रलाई सन्तुलित रूपमा प्रस्तुत गर्न सकेन। चीनका उचित सुझावहरूलाई पर्याप्त रूपमा सम्बोधन गरिएन। त्यसैले चीन मतदानबाट अनुपस्थित रहन बाध्य भयो,” उनले भने।

द्वन्द्वको निरन्तरता र वृद्धिले कसैलाई फाइदा नपुर्याउने बताउँदै फु कोङले भने, “चीनले सैन्य कारबाही तत्काल रोकेर थप वृद्धिको चक्र र द्वन्द्वको फैलावट रोक्न पुनः आह्वान गर्दछ। सम्बन्धित पक्षहरू सकेसम्म चाँडो वार्ता र संवादको सही बाटोमा फर्किई समान संवादमार्फत आपसी मतभेद समाधान गर्नुपर्दछ।” उनले मध्यपूर्वमा शान्ति र स्थिरता स्थापनाका लागि चीन क्षेत्रीय राष्ट्र र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न तयार रहेको पनि बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button