चीन र भियतनामबीच ‘३+३’ रणनीतिक वार्ता सुरु

बेइजिङ, १४ मार्च। चीन र भियतनामले कूटनीति, प्रतिरक्षा र सार्वजनिक सुरक्षा क्षेत्रमा नयाँ उचाइको सहकार्य गर्दै पहिलो पटक ‘३+३’ रणनीतिक वार्ता गर्ने भएका छन्। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार यसको जानकारी दिएका हुन्।
भियतनामको निमन्त्रणामा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य एवं विदेशमन्त्री वाङ यी, केन्द्रीय समिति सचिवालय सदस्य एवं सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओहोङ र रक्षामन्त्री डोङ जुन आगामी १५ देखि १७ मार्चसम्म भियतनामको भ्रमणमा रहनेछन्। यस भ्रमणका क्रममा उनीहरूले चीन-भियतनाम ‘३+३’ रणनीतिक वार्ताको पहिलो मन्त्रीस्तरीय बैठकमा भाग लिनेछन्।
प्रवक्ताका अनुसार यसै भ्रमणका क्रममा विदेशमन्त्री वाङ यीले भियतनामका तर्फबाट वरिष्ठ नेतासँग चीन-भियतनाम द्विपक्षीय सहकार्य निर्देशक समितिको १७औं बैठकको समेत सह-अध्यक्षता गर्ने कार्यक्रम छ।
यो नयाँ संयन्त्रले दुई छिमेकी मुलुकबीचको सम्बन्धलाई थप सुदृढ बनाउन र क्षेत्रीय स्थायित्व तथा सुरक्षामा सहकार्य विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्लेषण गरिएको छ।





