जेविएम लखनउ प्रथम खजुरा गोल्डकपको फाइनलमा

बाँके, वैशाख ५ — बाँकेको खजुरामा जारी प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा जेविएम फुटबल एकेडेमी लखनउले गोर्खा ब्वाइज स्पोर्ट्स क्लब बुटवललाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।
खजुरा–४ डि गाउँस्थित मिनी रंगशालामा शुक्रबार भएको खेलमा जेविएमका निखिल तामाङले १२औं मिनेटमा पहिलो गोल गरे। सुरज भण्डारीले ४३औं मिनेटमा दोस्रो गोल थपे भने उमेश दर्लामीले ६०औं मिनेटमा तेस्रो गोल गरे। गोर्खाका सुजन थारुले सान्त्वना गोल फर्काए। जेविएमका कप्तान सुजन मगरले दोस्रो हाफको सुरुमै रातो कार्ड पाए पनि १० खेलाडीमा सीमित टोलीले अग्रता जोगाउन सफल भयो। जेविएमका गोलरक्षक उमेश कुमार प्लेयर अफ द म्याच घोषित भए।
न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजनामा सञ्चालित नकआउट प्रतियोगितामा ८ टोलीको सहभागिता छ। दोस्रो सेमिफाइनल शनिबार फोर ब्रदर्स एफसी र नाइजेरियन जोन क्लबबीच हुनेछ। विजेताले ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। खेल हेर्न चर्चित गायक बद्री पंगेनी मैदानमा पुगेका थिए।





