राजन रोकायाको वर्चस्व : कान्तिपुर हाफ म्याराथनमा नयाँ कोर्स रेकर्ड, लन्डन म्याराथनको तयारीमा धावक

काठमाडौं। नेपाली एथलेटिक्सको पुरुषतर्फ लामो दूरीको दौडमा पछिल्लो समय राजन रोकायाको लगातार वर्चस्व छ। शनिबार सम्पन्न ‘कान्तिपुर हाफ म्याराथन’ पनि यसको अपवाद रहेन। त्रिभुवन आर्मी क्लबका २७ वर्षीय राजनले पुरुष हाफ म्याराथन लगभग सजिलै जिते। उनले १ घण्टा ४ मिनेट ०३ सेकेन्डको समय निकाले, जुन कान्तिपुर हाफ म्याराथनको नयाँ कोर्स रेकर्ड हो। यो प्रतियोगितामा उनी पहिलो पटक च्याम्पियन भएका हुन्, यद्यपि उनले अन्य दौडमा एक दर्जनभन्दा बढी जितिसकेका छन्। दौड सुरु भएदेखि अन्त्यसम्म राजन अगाडि नै रहे। अन्य प्रतिस्पर्धीले उनलाई कुनै चुनौती दिन सकेनन्।
राजनले दौडपछि भने, ‘आजको जितमा म खुसी छु। म अहिले लन्डन म्याराथनको तयारीमा छु। आजको दौड मेरा लागि त्यसकै एउटा परीक्षाजस्तै थियो। आज निस्केको समयले मलाई उत्साही र आत्मविश्वासी बनाएको छ।’ यसअघि हरिकुमार रिमालको नाममा १ घण्टा ६ मिनेट ४१ सेकेन्डको कोर्स रेकर्ड थियो। राजनले आफ्नो खेल जीवनको लक्ष्य वैकुण्ठ मानन्धरको नाममा रहेको म्याराथनको दक्षिण एसियाली कीर्तिमान तोड्नु रहेको बताए। ‘उहाँजत्तिको धावकको कीर्तिमान नजिक पुग्नु पनि मेरो लागि ठूलो उपलब्धि हो,’ उनले भने।

राजनको म्याराथनमा सबैभन्दा राम्रो प्रदर्शन पछिल्लो माघमा भएको थियो, जतिबेला उनले प्रधानसेनापति म्याराथन २ घण्टा १५ मिनेट ५३ सेकेन्डमा पूरा गरे। सन् १९८७ मा वैकुण्ठ मानन्धरले कोलकातामा भएको दक्षिण एसियाली खेलकुदमा २ घण्टा १५ मिनेट ०३ सेकेन्डको समय निकालेका थिए। राजनले थपे, ‘वैकुण्ठ मानन्धर गुरुले बनाउनुभएको यो कीर्तिमान लगभग चार दशक पुरानो भइसकेको छ। यो कीर्तिमान उछिन्नु सबै खेलाडीको सपना हुन्छ। म पनि त्यही सपनाको पछाडि छु र यसका लागि कडा मेहनत गरिरहेको छु।’ उनी जापानमा हुने एसियाली खेलकुदको तयारीमा पनि छन्, जहाँ उनले म्याराथन र १० हजार मिटर दौडमा सहभागिता जनाउनेछन्। पुरुष १० हजार मिटर दौडमा पनि उनको कीर्तिमानी प्रदर्शन छ।
राजनले दौडको विश्लेषण गर्दै भने, ‘दौडमा कस्तो प्रदर्शन हुन्छ भन्ने तथ्य त्यसै दिनको मौसम र परिस्थितिले पनि निर्धारण गर्छ। मलाई लाग्छ, आजको दौड धेरै अनुकूल रह्यो। बीचमा ट्राफिकको केही व्यवधान रह्यो, जुन नभएको भए मैले निकाल्ने समय अझ राम्रो हुन्थ्यो।’ उनले नेपाली एथलेटिक्समा पछिल्लो समय आर्मीको वर्चस्व रहनुमा त्यहाँको उत्कृष्ट प्रशिक्षण र विभागीय हौसला रहेको पनि बताए। कान्तिपुर हाफ म्याराथनमा उनी यसअघि ०८१ मा दोस्रो र ०८२ मा चौथो भएका थिए।

राजनले भनेझैं पुरुष हाफ म्याराथनको शीर्ष तीनमा आर्मीकै एकछत्र वर्चस्व रह्यो। आर्मीकै अर्जुन बुढा १ घण्टा ६ मिनेट ५० सेकेन्डमा दोस्रो भए। २६ वर्षीय अर्जुनले भने, ‘म नेपाली एथलेटिक्सका लागि नयाँ खेलाडीजस्तै हुँ। आजको प्रदर्शनमा म निकै खुसी छु, किनभने मेरो छोटो खेल जीवनमा यो नै अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो र यसैक्रममा पहिलोपटक पदक जित्न सफल भएँ। अबका दिनमा अझ राम्रो प्रदर्शनका लागि प्रयास गर्नेछु।’ कान्तिपुर हाफ म्याराथनमा उनको यो पहिलो सहभागिता थियो। दोस्रो र तेस्रो हुने खेलाडीबीच भने तीव्र प्रतिस्पर्धा चलेको थियो। तेस्रो स्थानमा आएका सुशील शाहीको समय १ घण्टा ७ मिनेट रह्यो। कान्तिपुर हाफ म्याराथनमा उनको यो दोस्रो सहभागिता हो। यसअघि ०८१ मा पनि उनी तेस्रो स्थानमा थिए। ३१ वर्षीय सुशीलले आफ्नो प्रदर्शनप्रति खुसी व्यक्त गरे।





