प्रथम खजुरा गोल्डकप : नाइजेरियन क्लब फाइनलमा, लखनउसँग आज उपाधि भिडन्त

बाँके, खजुरा । प्रथम खजुरा गोल्डकपको फाइनल प्रवेशका लागि नाइजेरियन जोन क्लबले शनिबार भएको अन्तिम सेमिफाइनलमा नवलपरासीको फोर ब्रदर्स एफसीलाई २–१ गोल अन्तरले पराजित गरेको छ। नाइजेरियाको तर्फबाट ३९औं मिनेटमा ताजुदिन अकिनसोला र ७८औं मिनेटमा ओेलाबी अफिजले गोल गरे। फोर ब्रदर्स एफसीबाट अभिषेक महतोले एक गोल फर्काए। यस खेलमा नाइजेरियन जोनका ३ र फोर ब्रदर्सका २ खेलाडीले पहेँलो कार्ड पाएका थिए।
फाइनल प्रवेशसँगै नाइजेरियन टोलीले जेविएम फुटबल एकेडेमी लखनउसँगको उपाधि भिडन्त पक्का गरेको हो। फाइनल खेल आइतबार अपरान्ह ४ बजे सुरु हुने छ। यसअघि नाइजेरियन जोन क्लबले नकआउट चरणमा एपीएफ क्लबलाई ३–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको थियो भने आयोजक न्यू डाँफे स्पोर्ट्स क्लब खजुरालाई १–० गोल अन्तरले हराउँदै जेविएमले सेमिफाइनलको यात्रा तय गरेको थियो।
न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगितामा आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबसहित जेविएम फुटबल एकेडेमी लखनउ, काँक्रेविहार क्लब सुर्खेत, फोर ब्रदर्स एफसी नवलपरासी, एपीएफ काठमाडौं र नाइजेरियन जोन क्लब नाइजेरिया गरी ८ टोलीको सहभागिता रहेको छ। प्रतियोगिता खजुरा–४ डि–गाउँस्थित मिनी रङ्गशालामा भइरहेको छ।
प्रतियोगिताका विजेताले नगद ७ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। विजेतालाई पुरस्कार खजुराका हाल अमेरिका निवासी लिलबहादुर थापाको सौजन्यमा प्रदान गरिनेछ। वैदेशिक रोजगारीका क्रममा हाल अमेरिकामा रहेका थापाले व्यक्तिगत रूपमा उक्त रकम सहयोग गरेका हुन्। आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष बालाराम खत्रीले उक्त सहयोग रकम लिलबहादुर थापाका दाजु पुराना खेलाडी तथा शिक्षक बालवीर थापाबाट बुझेका थिए। थापाले आफ्नो पिता स्व. गजबहादुर सिजालीको स्मृतिमा सहयोग गरेको बताएका छन्। शुरुमा स्व. गजबहादुर सिंजालीकाे स्मृतिमा खेल खेलाईने बताए पनि पछिल्लो समय एमटी एरेना खजुरा गाेल्ड कप २०८२ राखिएपछि स्थानीयले दु:ख ब्यक्त गरेका थिए। प्रतियोगिता सञ्चालनका लागि खजुरा गाउँपालिका, लुम्बिनी प्रदेश खेलकुद परिषद्, एम्टी एरिना लगायत सयौंले आर्थिक सहयोग गरेका छन्।





