७ बैशाख २०८३, सोमबार

बेइजिङमा दोस्रो ह्युमनोइड रोबोट हाफ म्याराथन सम्पन्न, ‘लाइटनिङ’लाई उपाधि

बेइजिङ — चीनको राजधानी बेइजिङस्थित ई–टाउन क्षेत्रमा आइतबार दोस्रो ह्युमनोइड रोबोट हाफ म्याराथन प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। आयोजकले जनाएअनुसार यस वर्षको प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी एक सयभन्दा बढी रोबोट टोलीले सहभागिता जनाएका थिए, जसमा फ्रान्स, जर्मनी र ब्राजिलजस्ता देशका पाँच अन्तर्राष्ट्रिय टोली पनि समावेश थिए। आधिकारिक तथ्याङ्कअनुसार २६ भन्दा बढी ब्रान्डका तीन सयभन्दा बढी ह्युमनोइड रोबोटहरू प्रतिस्पर्धामा उत्रिएका थिए।

चाइना मिडिया ग्रुप (सीएमजी) का अनुसार एक ओनर टोलीको रिमोट नियन्त्रित ‘लाइटनिङ’ रोबोटले ४८ मिनेट १९ सेकेण्डको समय निकाल्दै सबैभन्दा पहिले दूरी पूरा गरेको थियो। तर प्रतियोगिताको भारित अङ्क नियमअनुसार अर्को ओनर टोलीकै स्वचालित नेभिगेसन प्रणालीयुक्त ‘लाइटनिङ’ रोबोटले ५० मिनेट २६ सेकेण्डको शुद्ध समयसहित उपाधि चुम्न सफल भयो।

यो प्रदर्शनले गत वर्षको तुलनामा उल्लेख्य सुधारको सङ्केत गर्छ। सन् २०२५ को विश्व ह्युमनोइड रोबोट खेलकुद प्रतियोगितामा ‘तियानगोङ अल्ट्रा’ नामक रोबोटले दूरी पूरा गर्न २ घण्टा ४० मिनेट ४२ सेकेण्डको समय लिएको थियो।

यस वर्षको दौडमा ओनरको ‘युआन्की जाई’ र ‘लाइटनिङ’, युनिट्रीको ‘एच१’, तियानगोङ १.० अल्ट्रा, तियानगोङ अल्ट्रा–२०२६, तियानगोङ अल्ट्रा–२०२५ तथा नोइटिक्स रोबोटिक्सको ‘बी२’ लगायतका रोबोट सहभागी थिए।

विज्ञहरूका अनुसार पहिलो संस्करण प्राविधिक सम्भाव्यता पुष्टि गर्नमै केन्द्रित थियो भने यस वर्षको प्रतियोगिताले समग्र उद्योगको परिपक्वतालाई उजागर गरेको छ। उनीहरूका भनाइमा यो प्रतिस्पर्धा अब छुट्टाछुट्टै प्राविधिक सफलता देखाउने माध्यमबाट माथि उठेर वास्तविक जटिल वातावरणमा समग्र क्षमताको परीक्षण गर्ने चरणमा प्रवेश गरेको छ। यो विकासक्रमले सम्बन्धित प्रविधिहरू प्रयोगशालाबाट निस्केर जटिल व्यावहारिक अवस्थामा प्रयोग हुन थालेको र उद्योग ‘गर्न सकिन्छ कि सकिँदैन’ भन्ने चरणबाट ‘कति राम्रो गर्न सकिन्छ’ भन्ने प्रतिस्पर्धातर्फ अघि बढेको देखाउँछ।

ग्लोबल टाइम्सका संवाददाताले घटनास्थलबाट गरेको अवलोकनअनुसार पहिलो संस्करणको तुलनामा यसपटक ह्युमनोइड रोबोटहरूको गति र दौडने मुद्रा दुवैमा उल्लेखनीय प्रगति देखिएको छ। मेसिनहरू तीव्र गतिमा दौडँदा दर्शकहरूबाट पटक–पटक आश्चर्यको भाव प्रकट भएको थियो। गत वर्ष धेरै रोबोटहरू दौडको सुरुमै सन्तुलन कायम गर्न संघर्षरत देखिएका थिए भने यस वर्ष प्रायः सबै सहभागीले सफा र स्थिर सुरुवात गरेका थिए।

सहभागी कम्पनीहरूका अनुसार यस वर्षका ह्युमनोइड रोबोटहरूमा भू–बनोट अनुकूलन क्षमता, सहनशीलता तथा अवरोधविरोधी क्षमताजस्ता महत्त्वपूर्ण पक्षमा ठूलो स्तरोन्नति गरिएको छ। बेइजिङ ह्युमनोइड रोबोट इनोभेसन सेन्टर कम्पनीको ‘तियानगोङ अल्ट्रा–२०२६’ उच्च गतिको दौड, जटिल भू–बनोट अनुकूलन, स्वचालित नेभिगेसन तथा बलियो अवरोधविरोधी क्षमताका साथ ट्र्याकमा फर्किएको थियो। त्यस्तै, उपभोक्ता उपकरण निर्माताका रूपमा पहिलोपटक रोबोट हाफ म्याराथनमा सहभागी ओनरले आफैंले विकास गरेको १.६९ मिटर अग्लो ‘लाइटनिङ’ रोबोट मैदानमा उतारेको थियो, जसलाई विस्फोटक गतिका लागि मेका–शैलीको डिजाइनमा तयार गरिएको छ।

युनिट्रीले गत प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याएको ‘एच१’ रोबोटलाई यसपटक लामो दूरीको दौडका लागि सहनशीलता, चाल नियन्त्रण एल्गोरिदम र अवरोधविरोधी क्षमतामा स्तरोन्नति गरेर पठाएको थियो। कम्पनीले अप्रिल ११ मा सार्वजनिक गरेको भिडियोमा एच१ ले १० मिटर प्रति सेकेण्डको गतिमा एक सय मिटर दौडेको देखाइएको थियो, जुन जमैकाका दिग्गज धावक उसेन बोल्टले ९.५८ सेकेण्डको विश्व कीर्तिमान राख्दा हासिल गरेको १०.४४ मिटर प्रति सेकेण्डको शिखर मानवीय गतिको नजिक हो।

गत वर्षको तुलनामा यस वर्षको प्रतियोगिता झन्डै पाँच गुणा ठूलो रहेको आयोजकले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button