६ बैशाख २०८३, आईतवार

ब्याक्टेरियल इन्टरकोलाइटिसका कारण रियाल मड्रिडका डिफेन्डर असेन्सियो केही साता मैदान बाहिर रहने

म्याड्रिड — रियाल मड्रिडका डिफेन्डर राउल असेन्सियो ब्याक्टेरियल सङ्क्रमणका कारण केही साता मैदान बाहिर रहने भएका छन्। क्लबले शनिबार जारी गरेको विज्ञप्तिमा उनलाई ब्याक्टेरियल इन्टरकोलाइटिस भएको पुष्टि गरेको छ। यो सङ्क्रमणका कारण उनले केही दिनकै अन्तरालमा थुप्रै किलो तौल गुमाइसकेका छन्।

यसअघि बुधबार बायर्न म्युनिखसँग च्याम्पियन्स लिगमा भएको पराजयका बेला असेन्सियो टोलीमा अनुपस्थित थिए। सुरुमा उनलाई ग्यास्ट्रोएन्टेराइटिस भएको अनुमान गरिए पनि समस्या त्योभन्दा गम्भीर रहेको क्लबले शनिबार स्पष्ट पारेको हो।

रियाल मड्रिडको आधिकारिक वेबसाइटमा जारी विज्ञप्तिमा भनिएको छ, “रियाल मड्रिडका चिकित्सकीय सेवाद्वारा हाम्रा खेलाडी राउल असेन्सियोमाथि गरिएको परीक्षणपश्चात् उनलाई ब्याक्टेरियल इन्टरकोलाइटिस भएको पुष्टि भएको छ।”

यसैबीच, स्पेनका थुप्रै खेलकुद पत्रिकाहरूले असेन्सियोले करिब ६ किलोग्राम तौल गुमाएपछि अस्पतालमा उपचार गराउनुपरेको उल्लेख गरे पनि रियाल मड्रिडले भने “असेन्सियो आफ्नै घरमा उपचाररत रहेको” मात्र जनाएको छ।

क्लबले आफ्नो परम्पराअनुसार उनको मैदानमा फर्किने मिति यकिन गरेर नभने पनि आगामी ला लिगा खेलहरूमा उनले भाग लिने सम्भावना न्यून रहेको बुझिएको छ। आगामी मंगलबार घरेलु मैदानमा डिपोर्टिभो अलाभेसविरुद्ध र त्यसको तीन दिनपछि रियाल बेटिसविरुद्ध हुने खेलमा असेन्सियो मैदान उत्रिन नसक्ने लगभग निश्चित भएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button