खजुरा गोल्डकपको उपाधि नाइजेरियन टोली जस्ट जोन एफसीलाई, फाइनलमा जेविएम लखनउ ४–० ले पराजित

बाँके, वैशाख ७ — बाँकेको खजुरामा जारी एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नाइजेरियन टोली जस्ट जोन एफसीले हात पारेको छ। खजुरा–४ डि गाउँस्थित मिनी रङ्गशालामा आइतबार भएको फाइनल खेलमा नाइजेरियन टोलीले भारतको जेविएम क्लब लखनउलाई ४–० गोल अन्तरले पराजित गर्यो।
नाइजेरियाको जितमा कलव कोनले दुई गोल गरे भने एडवार्ड थोमस र ओलावी अफीजले एक–एक गोल थपे। प्रतियोगितामा नाइजेरियाका गोलरक्षक लेकन शितु उत्कृष्ट गोलरक्षक घोषित भए। यसैगरी, बिल्गो उत्कृष्ट रक्षक तथा म्यान अफ द म्याच चुनिए भने एडवार्ड प्लेयर अफ द टुर्नामेन्ट घोषित भए।
जेविएम लखनउका क्षितिज मगर उत्कृष्ट मिडफिल्डर र फोर ब्रदर्स एफसी नवलपरासीका नवीन महतो सर्वाधिक गोलकर्ता बने। उपाधिसँगै नाइजेरियन टोली जस्ट जोन एफसीले नगद सात लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो भने उपविजेता जेविएम क्लब लखनउले चार लाख रुपैयाँमा चित्त बुझायो।
चैत ३० गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गरेका थिए।





