विश्व बैंकबाट साढे १२ अर्ब ऋण: ‘ग्रेटर लुम्बिनी’ परियोजनाको कार्यान्वयन सुनिश्चित

काठमाडौं – बुद्ध जन्मस्थल लुम्बिनी र आसपासको क्षेत्रको समग्र विकासका लागि महत्वाकांक्षी रुपमा अगाडि बढाइएको ‘ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना’ ले अन्तर्राष्ट्रिय दातृ निकाय विश्व बैंकबाट ऋण सहयोग पाउने भएको छ। विश्व बैंकले उक्त परियोजना कार्यान्वयनका लागि ८५ मिलियन अमेरिकी डलर अर्थात करिब साढे १२ अर्ब रुपैयाँ ऋण दिने निर्णय गरेको हो।
अमेरिकाको वासिङ्टन डिसीमा यही मार्च १३ तारिखमा भएको विश्व बैंकको बोर्ड बैठकले रुपन्देही, कपिलवस्तु र नवलपरासी (पश्चिम) जिल्लालाई समेट्ने ‘ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना’ का लागि ऋण दिने निर्णय गरेको हो। सहरी विकास मन्त्रालय र पर्यटन मन्त्रालयमार्फत अगाडि बढेको यस परियोजनाको कार्यान्वयनका लागि १२ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी बजेट अनुमान गरिएको लुम्बिनी विकास कोषले जनाएको छ।
विश्व बैंकले ऋण दिने निर्णय गरेपछि अब नेपाल सरकारलाई केही दिनमै औपचारिक जानकारी आउने र मन्त्रिपरिषद् बैठकले ऋण स्वीकार गरेपछि परियोजना कार्यान्वयनमा जाने लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए। परियोजनाका लागि स्रोत जुटाउन केही वर्षअघि देखि प्रक्रिया अघि बढे पनि झण्डै तुहिने अवस्थामा पुगेको तर पछिल्लो एक वर्ष निकै मिहिनेत गरेर विश्व बैंकलाई कन्भिन्स गराउन सफल भएको उनले बताए।
ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना नेपाल सरकारको सहरी विकास मन्त्रालयको नेतृत्वमा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी प्रदेश सरकार, सम्बन्धित स्थानीय तह र विश्व बैंकको सहयोगमा कार्यान्वयन हुने एक समग्र पर्यटन–पूर्वाधार तथा सम्पदा संरक्षण कार्यक्रम हो। पूर्वमा नवलपरासीको बर्दघाटदेखि पश्चिममा कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटासम्म र बीचमा रुपन्देही सहित तीन जिल्लाको भूभागलाई ‘बृहत् लुम्बिनी क्षेत्र’ का रूपमा विकास गर्ने लक्ष्य यस परियोजनाको रहेको छ, जसलाई पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अगाडि सारेको ड्रिम प्रोजेक्टका रूपमा हेरिन्छ।
परियोजनाका लागि लगानीका स्रोत खोज्ने, थप क्षेत्रहरु समावेश गरेर पर्यटकीय गन्तव्यहरुको पहिचान, विकास र प्रवर्द्धन गर्नेलगायतका काममा विज्ञहरुले निरन्तर अध्ययन र अन्तरक्रिया गरेर अब कार्यान्वयनको चरणमा आउने अवस्था आएको कोषका उपाध्यक्ष ल्हारक्याल लामाले बताए। “अध्ययन प्रतिवेदनमा अन्तर्राष्ट्रिय दातृ निकाय सकारात्मक हुनु, रुपन्देही, कपिलवस्तु र नवलपरासीका सम्बन्धित पालिकाका प्रमुखहरु र अगुवाहरू सहकार्यका लागि एकजुट हुनुले परियोजनाका लागि विश्व बैंक ऋण दिन तयार भएको हो,” लामाले भने।
यस परियोजना अन्तर्गत विश्व सम्पदा सूचीमा रहेको लुम्बिनीस्थित मायादेवी मन्दिर, बुद्ध जन्मस्थल, पवित्र पुष्करिणी पोखरी र अशोक स्तम्भलगायतका सम्पदा, कपिलवस्तुको तिलौराकोट प्राचीन शाक्य राज्यको पुरातात्विक भग्नावशेष र नवलपरासीको रामग्रामस्थित बुद्धको मूल अवशेष रहेको एक मात्र अक्षुण्ण स्तूपको संरक्षण तथा प्रवर्द्धन गरिनेछ। यस क्षेत्रलाई आध्यात्मिक, सांस्कृतिक र पर्यटन केन्द्रका रूपमा स्थापित गर्दै समग्र क्षेत्रको पूर्वाधार, आर्थिक गतिविधि, रोजगारी र दिगो सहरी विकासलाई एकीकृत ढंगले अघि बढाउने परियोजनाको उद्देश्य रहेको छ।
पूर्व अर्थमन्त्री पौडेलले यस परियोजनालाई तीन जिल्लाको मात्र नभइ नेपालकै ‘ड्रिम प्रोजेक्ट’ मध्येको एक महत्वपूर्ण परियोजना भएको दाबी गर्दै भने, “बहु क्षेत्रीय सहकार्य, अन्तरसरकारी समन्वय र अन्तर्राष्ट्रिय साझेदारीमार्फत लुम्बिनीलाई केन्द्रमा राखी समग्र क्षेत्रलाई धार्मिक पर्यटन, सांस्कृतिक संरक्षण र दिगो आर्थिक समृद्धिको नमूना क्षेत्र बनाउने संकल्प हो। लगानीका लागि भरपर्दो अन्तर्राष्ट्रिय दातृ निकाय विश्व बैंकले निर्णय गर्नुले अब यसको कार्यान्वयन सुनिश्चित भएको छ।”




