टिकापुरमा सशस्त्र प्रहरी गुल्मभित्रै हातपात: डीएसपीमाथि आक्रमण, ३१ प्रहरी फिर्ता गर्दै

काठमाडौं — कैलालीको खक्रौला नाकास्थित सशस्त्र प्रहरी गुल्ममा स्थानीय युवा तथा व्यापारीहरू घुसपैठ गरी डीएसपीसहितका प्रहरीमाथि हातपात गरेका छन्। भारतबाट ल्याइएको सामान सशस्त्र प्रहरीले बरामद गरेको विषयलाई लिएर गुल्मभित्र प्रवेश गरेको भीडले हातपात गरेको हो।

टिकापुरस्थित खक्रौला भन्सार नजिकै रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टरमा अवैध सामान नियन्त्रणमा लिएको विषयलाई लिएर तनाव उत्पन्न भएको थियो। व्यापारीले भारतबाट ल्याएको सामान सशस्त्र प्रहरीले बरामद गरेपछि टीकापुर उद्योग वाणिज्य संघको टोली समेतको सहभागितामा गुल्ममा छलफल भएको थियो। छलफल सकिएलगत्तै स्थानीय युवा र केही व्यापारी गुल्मभित्रै छिरेर हातपातमा उत्रिएका हुन्।

अनियन्त्रित भीडले सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पालमाथिसमेत हातपात गरेको बताइएको छ। डीएसपी पालले सीमा नाकामा ज्यादती गरेको आरोप लगाउँदै गुल्ममै छिरेर व्यापारी र सर्वसाधारणले हातपात गरेको प्रारम्भिक जानकारीमा उल्लेख छ।

घटनापछि गुल्ममा कार्यरत डीएसपी पालबाहेक सम्पूर्ण टोलीलाई फिर्ता गर्ने निर्णय भएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीले डीएसपी पालबाहेक ३१ जना सशस्त्र प्रहरीको टोली नयाँ पठाउन लागिएको जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले बताएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button