मौसमको मार: चैत ६ र ७ गते भारी वर्षा, हिमपात र हावाहुरीको चेतावनी, सतर्कता अपनाउन आग्रह

काठमाडौं – आउँदो दुई दिन अर्थात चैत्र ६ गते शुक्रबार र ७ गते शनिबार देशका विभिन्न भागमा भारी वर्षा, हिमपात तथा तीव्र हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तो खराब मौसमले जनजीवन प्रभावित हुन सक्ने भन्दै सरकारले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
गृह मन्त्रालयको हेलो सरकार कार्यक्रम मार्फत जारी सूचनामा नागरिकहरूलाई काम नपरी यात्रामा ननिस्कन, सुरक्षित स्थानमा बस्न र उच्च सावधानी अपनाउन अनुरोध गरिएको छ। तीव्र हावाहुरी चलेका बेला घरको झ्याल तथा ढोका राम्रोसँग बन्द गर्न, आगोका स्रोतहरू बन्द गर्न र विद्युतीय उपकरण नचलाउन पनि भनिएको छ।

यात्रामा रहेका सवारी साधानलाई पनि हावाहुरी चलेको समयमा रोकेर सुरक्षित स्थानमा बस्न सुझाव दिइएको छ। यसैगरी, भिडभाडमा रहेका नागरिकलाई नआत्तिन र भागदौड नगरी विस्तारै सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ।
प्राधिकरणले कमजोर संरचना, अग्ला रुख, टेलिफोन तथा बिजुलीका खम्बा र तार मुनि नबस्न पनि चेतावनी दिएको छ। बिजुलीको तार लत्रिएको देखेमा नछुन र तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउन पनि भनिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको सक्रियताका कारण देशको पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ भने तराईका क्षेत्रमा वर्षा र हावाहुरीको जोखिम बढेको छ। यस्तो मौसमले कृषि, यातायात तथा दैनिक जनजीवनमा समेत असर पुर्याउन सक्ने भएकाले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।




