आगामी प्रधानमन्त्रीलाई १२ बुँदे सन्देश

'देश बचाउन सीमा नियमित गर, दोहोरो नागरिकता भएमा फर्काइनुपर्छ'

काठमाडौं, : चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मीले सम्भावित भावी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई १२ बुँदे सुझावसहित खुल्ला पत्र शैलीमा टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा उक्त विचार राख्दै देशको सार्वभौमसत्ता, अखण्डता र परराष्ट्र नीतिबारे गम्भीर ध्यानाकर्षण गराएका हुन्।

रेग्मीले नेपालले सधैँ अवलम्बन गर्दै आएको असंलग्न परराष्ट्र नीतिलाई पन्चशीलको सिद्धान्तमा आधारित रहँदै कायम राख्नुपर्नेमा जोड दिएका छन्। उनले दुई छिमेकीलाई समान दूरीमा राख्न सुझाव दिँदै भनेका छन्, “पुँजी लगानी गर्न नसक्ने देश आफूले लगानी लिने नेपालमा लगानी आउन नदिने प्रयास गर्दै आएको छ। छ महिने सरकारले सामान्य लगानी ल्याउन पनि सकेन।”

यस्तै, उनले नेपाललाई कदापि विदेशी सैनिक अखडा बन्न नदिन चेतावनी दिएका छन्। “राखे देश गृहयुद्धमा फस्छ,” उनको भनाइ छ। साथै, आफूमाथि लागेको ‘अमेरिकी मान्छे’को आरोपलाई ख्याल गर्दै रेग्मीले शाहलाई सचेत गराएका छन्, “तपाईंलाई अमेरिकाको मान्छे भन्छन्, तपाईं नेपाल र नेपालीको मान्छे बन्नुपर्दछ। तब मात्र तपाईंले नेपाललाई नेपालीको बनाउन सक्नुहुन्छ।”

रेग्मीले देशको सार्वभौमसत्ता मासिने अवस्थामा पुगेको भन्दै सबैतिरको सीमा नियमित गर्न माग गरेका छन्। उनले गद्दार, भ्रष्ट र राष्ट्रद्रोही शासनकालमा करोडौं विदेशीले नेपाली नागरिकता पाएको आरोप लगाउँदै दोहोरो नागरिकता भएकालाई उनीहरूकै देश फर्काउनुपर्ने अडान राखेका छन्।

उनले वर्तमान संविधानअनुसार सरकारलाई राष्ट्रिय सभाको समर्थनबिना कुनै पनि विधेयक पारित गर्न नसकिने भन्दै अन्य दलको सहयोग आवश्यक पर्नेतर्फ समेत ध्यानाकर्षण गराएका छन्। यसैगरी, कर्मचारीतन्त्र, सेना, प्रहरी र गुप्तचर निकायलाई बलियो र उपयोगी बनाउन सुझाव दिँदै उनले सेनाको संख्याबारे पुनर्विचार गर्नुपर्ने र सेनालाई बाह्य आक्रमणसँग लड्न सक्ने गरी तयार पार्नुपर्ने बताएका छन्।

रेग्मीले दश वर्षे जनयुद्धको सन्दर्भ स्मरण गर्दै त्यसबेला एक विदेशी राजदूतले गरेको “खुब बच्यो भने काठमाडौं मात्र बच्छ” भन्ने टिप्पणीलाई सम्झिएका छन्। उनले ती देशले नेपाललाई हतियार र निर्देशन दुवै दिने गरेको आरोप पनि लगाएका छन्।

यसबाहेक, देश चलाउन सल्लाहका लागि विदेशमा रहेका नेपाली प्राविधिक र ज्ञातालाई स्वदेश फर्काउने वातावरण बनाउन, कृषि र औद्योगिकीकरणको विकास अबिलम्ब सुरु गर्न, विदेशी लगानी र ऋण दुवै लिन सक्नुपर्ने तर दानको ऋणबाट देश नबन्ने चेतावनी दिएका छन्। उनले नेपालको पर्यटन प्रवर्द्धन गर्न पनि नभुल्न सुझाव दिएका छन्।

अन्तमा, उनले शाहको योजना र विकासप्रतिको चाहना सुनेको भन्दै त्यसका लागि राजनीतिक स्थायित्व, एकता र विदेशी हस्तक्षेप रोकिनुपर्ने धारणा राखेका छन्। “लेख्ने कुरा धेरै छन्, बिस्तारै लेख्दै गरौला,” भन्दै उनले टिप्पणीको अन्त्य गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button