प्रधानमन्त्री कप भलिबल लिग आजदेखि : विजेताले पाउने १० लाख

काठमाडौँ — दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग आजदेखि सुरु हुँदैछ। नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा हुने लिग दशरथ रंगशालास्थित कभर्डहलमा दश दिनसम्म सञ्चालन हुनेछ।
लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। एनभीएको खेल तालिकाअनुसार पहिलो दिन महिला र पुरुषतर्फ दुई–दुई खेल हुनेछन्।
महिलातर्फ बिहान ८ बजे एपीएफ र त्रिभुवन आर्मी क्लबबीच उद्घाटन खेल हुनेछ भने बिहान १० बजे नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लब खेल्नेछन्।
पुरुषतर्फ मध्याह्न १२ बजे हेल्प नेपाल क्लब र बुढानिलकण्ठ भलिबल क्लब तथा अपराह्न ४ बजे त्रिभुवन आर्मी क्लब र खिल्ली युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ।
एनभीए लिगका खेलहरू सिंगल राउण्ड रोबिनका आधारमा हुनेछन्। लिगमा महिला र पुरुषतर्फ गरी कुल ४५ खेल हुनेछन् — पुरुषतर्फ २८ र महिलातर्फ १५ खेल।
लिग चरणपछि दुवैतर्फ शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।
लिगमा दुवैतर्फ विजेताले १० लाख नगदसहित ट्रफी प्राप्त गर्नेछन्। उपविजेताले ५ लाख र तेस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
महिला र पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडीले ६० हजार रुपैयाँ प्राप्त गर्दा उत्कृष्ट सर्भर, ब्लकर, लिबेरो, स्पाइकर, सेटर र प्रशिक्षकले ३०–३० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
नवौँ संस्करणको उपाधि पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ न्यु डायमण्डले जितेको थियो।





