१० बैशाख २०८३, बिहीबार

शीर्ष छ मा प्रवेशका लागि नेपाललाई पाँच खेलमा जित आवश्यक

काठमाडौँ — आईसीसी क्रिकेट विश्वकप लिग–२ मा शीर्ष छ स्थानभित्र पुग्न नेपालले आगामी दुई श्रृङ्खलाअन्तर्गतका पाँच खेलमा जित निकाल्नुपर्ने भएको छ। नेपालले आठ खेलबाट कम्तीमा पाँच खेल जित्नैपर्ने अवस्था छ।

जम्मा २० खेलबाट १२ अङ्क जोडेर सातौँ स्थानमा रहेको नेपालका लागि आफूभन्दा माथिका नामिबिया (२२ अङ्क) र क्यानडा (२१ अङ्क) लाई उछिन्न कम्तीमा पाँच खेलको जित पर्याप्त हुनेछ। चौथो स्थानको नेदरल्याण्ड्स (२८ अङ्क) भेट्टाउन सबै खेलमा राम्रो स्कोरका जित आवश्यक छ।

वैशाख १२ देखि जेठ ८ गतेसम्म हुने दुई श्रृङ्खला नेपालका लागि सहज छैन। विश्लेषकहरूका अनुसार पछिल्लो समय नेपालको एकदिवसीय प्रदर्शन राम्रो छैन। नेपाल एक दिवसीय मान्यता जोगाउनै सङ्घर्षरत छ। धेरै नयाँ खेलाडी र अपर्याप्त तयारीले नतिजामा प्रभाव पार्न सक्छ।

नेपाल, ओमान र यूएईबीचको श्रृङ्खला वैशाख १२ देखि २२ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ। नेपालले वैशाख १२ मा यूएईसँग, वैशाख १६ मा ओमानसँग, वैशाख १८ मा यूएईसँग र वैशाख २२ मा ओमानसँग खेल्नेछ।

यसैगरी नेपाल, अमेरिका र स्कटल्याण्डबीचको श्रृङ्खला वैशाख २९ देखि जेठ ८ गतेसम्म चल्नेछ। नेपालले वैशाख २९ मा स्कटल्याण्डसँग, जेठ २ मा अमेरिकासँग, जेठ ४ मा स्कटल्याण्डसँग र जेठ ८ मा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। सबै खेल बिहान ९ः३० बजे सुरु हुनेछन्।

नेपाली टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भूर्तेल, आशिफ शेख, भिम विश्वकर्मा, आरिफ शेख, बासिर एहेमद, गुल्सन झा, सोमपाल कामी, सन्दीप लामीछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी। मुख्य प्रशिक्षक स्टुआर्ट ल हुन्।

नेपालले गत नोभेम्बरमा यूएईसँग दुवै खेल हारेको थियो भने ओमानसँग २०२४ सेप्टेम्बरमा दुईमध्ये एक खेलमा पराजय भोगेको थियो। अमेरिकासँग गत अक्टोबर–नोभेम्बरमा दुवै खेल हारेको थियो भने स्कटल्याण्डसँग गत जुनमा एक खेल जितेको थियो।

तालिका अनुसार अमेरिका ३६ अङ्कसहित शीर्ष, स्कटल्याण्ड ३४ अङ्कसहित दोस्रो, ओमान २९ अङ्कसहित तेस्रो, नेदरल्याण्ड्स २८ अङ्कसहित चौथो, नामिबिया २२ अङ्कसहित पाँचौँ, क्यानडा २१ अङ्कसहित छैटौँ र नेपाल १२ अङ्कसहित सातौँ स्थानमा छ। यूएई १० अङ्कसहित पुछारमा छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी–२० फर्माटको कप्तानबाट रोहित पौडेललाई हटाएर दीपेन्द्र सिंह ऐरीलाई नियुक्त गरेको छ। डब्लुसिएल–२ मा मात्र फोकस गर्न क्यानले यो निर्णय लिएको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button