१० बैशाख २०८३, बिहीबार

बालेनको चर्चाले बेलायती युवा आकर्षित : नेपाली युवा विश्वभन्दा बढी आशावादी

काठमाडौँ — नेपालमा एक चर्चित र्यापर चुनाव जितेर प्रधानमन्त्री बनेको खबरले रोमाञ्चित बनेका बेलायती युवा ज्याक मार्की दुई साताअघि काठमाडौं ओर्लिँदा थप चकित बने। बालेन र्यापर मात्रै नभई पीएचडी क्यान्डिडेटसमेत भएको उनले यहाँ आएपछि बल्ल थाहा पाए।

‘मलाई त बालेन र नेपालबारे आधा–अधुरो मात्रै ज्ञान रहेछ। अहिले पो वास्तविकता बुझ्दै छु,’ ज्याकले भने, ‘पश्चिमा मिडियाले बालेनलाई र्यापर मात्रै भनेर चिनाइरहेका छन्। उनले जुन शैलीमा चुनाव जिते, त्यसले विश्वभरका मानिसको ध्यान तानेको छ।’

गत हप्ता ज्याकसहित अक्सफोर्ड विश्वविद्यालय र लन्डन स्कुल अफ इकोनोमिक्सका एक दर्जन विद्यार्थी टोली नेपाललाई नजिकबाट नियाल्न १० दिने कूटनीतिक भ्रमणमा आएको थियो। टोलीमा बेलायत, अमेरिका, क्यानडा, मलेसिया, जर्मनी, भारत र नेपालका १५ युवा सहभागी थिए। औपचारिक कार्यक्रम सकिए पनि ज्याक र उनका साथीहरू अझै काठमाडौं डुलिरहेका छन्।

अक्सफोर्डबाट गणितमा स्नातक ज्याक बेलायती सरकारमा तथ्यांकशास्त्री र मेसिन लर्निङ इन्जिनियरको रूपमा कार्यरत छन्। सन् २०२४ मा पहिलोपटक नेपाल आएका उनले स्थानीय युवाको प्रविधिमा दक्षता देखेपछि बेलायतमा ‘एट के टेक’ नामक कम्पनी खोले। यो कम्पनी लन्डनमा दर्ता भए पनि नेपालका सफ्टवेयर इन्जिनियरहरूलाई रोजगारी दिन्छ।

‘मकहाँ अहिले ८/१० जना नेपाली युवाले युरोप र अमेरिकाका ग्राहकहरूको काम गरिरहेका छन्,’ उनले भने, ‘कम्पनीमा मसँग नेपालका अस्मोद खकुरेल र अवन श्रेष्ठ सह–संस्थापक छन्।’ नेपालको हिमालको सम्मानमा ८ हजार मिटर उचाइ आशयले कम्पनीको नाम ‘एट के’ राखेको बताए।

बेलायती युवाको तुलनामा नेपाली युवामा देशको भविष्यप्रति ज्यादै आशावाद र ऊर्जा रहेको ज्याकको मूल्यांकन छ। ‘हाम्रो देशका युवाभन्दा नेपाली युवा बढी सकारात्मक छन्,’ उनले भने।

गत भदौको जेन–जी आन्दोलनका क्रममा भएका आगजनी र भौतिक क्षतिका कुराहरू सुन्दा जलिरहेका भवनहरू देख्दा भने ज्याकलाई अचम्म लागेको छ। आफू पनि सरकारी कर्मचारी भएकाले बेलायतमा सरकारी कार्यालय वा घरहरूमा आगो लगाउने आन्दोलन हुने कुरा कल्पना गर्न गाह्रो भएको उनले बताए।

सन् २०२३ देखि २०२५ सम्म क्यानडाको प्रिभी काउन्सिल अफिसमा वैदेशिक तथा रक्षा नीति सल्लाहकार रहेका कार्टर डङ्गेटको नेपाल अनुभव भने भावनात्मक छ। सन् १९८३ मा उनकी हजुरआमा नेपाल घुम्न आउँदा एउटा बौद्ध भिक्षुसँग खिचेको ४० वर्ष पुरानो तस्बिर साथ लिएर आएका कार्टरले ती भिक्षुलाई फेला पारे।

‘त्यही फोटो देखाएर बौद्ध क्षेत्रमा खोजी गर्दै जाँदा मैले ती भिक्षुलाई फेला पारें,’ उनले खुसी हुँदै भने, ‘उहाँ पनि बुढो भइसक्नुभएछ, तर मेरो हजुरआमाभन्दा कान्चै हुनुहुँदो रहेछ। मैले तस्बिर देखाउँदा उहाँले हजुरआमालाई चिन्नुभयो।’

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button