१५ बैशाख २०८३, मंगलवार

आईपीएल : दिल्लीलाई ९ विकेटले हराउँदै आरसीबी दोस्रो स्थानमा, कोहलीको कीर्तिमानी ९ हजार रन

बेंगलोरु — इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलोरु (आरसीबी) ले दिल्ली क्यापिटल्समाथि फराकिलो जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। सोमबार सम्पन्न खेलमा दिल्लीलाई ९ विकेटले हराउँदै आरसीबीले प्रतियोगितामा आफ्नो छैटौं जित दर्ता गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ऐतिहासिक रूपमै खराब सुरुवात गर्यो। आईपीएल इतिहासमै पावर प्लेमा सर्वाधिक कम स्कोर बनाउँदै दिल्ली मात्र ७५ रनमा अलआउट भयो। दिल्ली एक समय ८ रन जोड्दा ६ विकेट गुमाइसकेको थियो। तर अभिषेक पोरलले ३०, डेभिड मिलरले १९ र क्याली जेमिसनले १२ रन बनाएपछि इतिहासकै न्यूनतम स्कोर बनाउनबाट केही हदसम्म जोगियो।

दिल्लीलाई सस्तैमा समेट्ने क्रममा जोस हेजलवुडले ४ विकेट लिए भने भुवनेश्वर कुमारले ३ विकेट हात पारे। रसिक सलाम, सुयश शर्मा र कृणाल पाण्ड्याले एक–एक विकेट लिए।

७६ रनको सानो लक्ष्य पछ्याएको बेंगलोरुले ६.३ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। विराट कोहली २३ रनमा अविजित रहे भने देवदत्त पडिक्कल ३४ रनमा नटआउट रहे। ज्याकब बेथेलले २० रन जोडे।

यस खेलसँगै कोहलीले आईपीएलमा ९ हजार रन पूरा गरेका छन्। आईपीएल इतिहासमै यो उपलब्धि हासिल गर्ने उनी पहिलो ब्याट्सम्यान बनेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button