१६ बैशाख २०८३, बुधबार

कीर्तिपुरमा ओमानविरुद्ध बदलाको मौका, नेपाललाई शीर्ष चारको दबाब

काठमाडौं — लगातार दोस्रो एकदिवसीय विश्वकप छनोटको सम्भावना जीवितै राख्न नेपालले बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमानको सामना गर्दैछ। लिग २ अन्तर्गतको यो खेल नेपालका लागि बदलाको अवसर पनि हो— पछिल्लो पटक सन् २०२० मा कीर्तिपुरमै ओमानले नेपाललाई ‘क्लिन स्विप’ गरेको थियो।

त्यतिवेला ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाल ओमानसँग दुवै खेलमा पराजित भएको थियो। कुशल भुर्तेल र आसिफ शेखले डेब्युसमेत गरेका थिएनन्। अहिले भने नेपाली टोलीमा ठूलो फेरबदल आइसकेको छ। रोहित पौडेलको कप्तानीमा रहेको नेपालले शनिबार यूएईलाई ३७ रनले पराजित गरेको थियो भने ओमान सोमबार यूएईसँग २५ रनले स्तब्ध भयो।

नेपाल अहिले २१ खेलबाट १४ अंकसहित सातौं स्थानमा छ। बाँकी १५ खेलमध्ये करिब १२ जित्न सके शीर्ष चारमा रहँदै विश्वकप छनोटको ढोका खुल्नेछ। यी १५ मध्ये ७ खेल नेपालले घरेलु मैदानमै खेल्नेछ। ‘यो शृंखला हाम्रा लागि निकै महत्त्वपूर्ण छ,’ कप्तान रोहितले भनिसकेका छन्।

यद्यपि, नेपालको शीर्षक्रमको ब्याटिङ चिन्ताको विषय बनेको छ। आसिफ शेखले पछिल्ला ११ इनिङ्समा अर्धशतक बनाउन सकेका छैनन्। कुशल भुर्तेलको पनि पछिल्ला ८ खेलमा अर्धशतक छैन। यूएईविरुद्ध पहिलो खेलमा नेपाल २ सय रनमा सीमित भएको थियो, जसमा रोहित आफैं सन्तुष्ट थिएनन्। ओमानविरुद्ध ओपनरबाट ठूलो इनिङ्सको अपेक्षा गरिएको छ।

ओमान भने यसपटक लयमा छैन। नेपाल ‘ए’ सँग अभ्यास खेलमा १ सय १५ रनले पराजित ओमानी टोली आफ्नो पुरानो सफलता दोहोर्याउने दाउमा छ। सन् २०२४ को क्यानडा भ्रमणमा ओमानले नेपाललाई १ विकेटले हराएको थियो। तर, त्यतिवेलाको ओमानी टोली र अहिलेकोमा धेरै अन्तर छ— कप्तान जतिन्दर सिंहबाहेक अधिकांश खेलाडी नेपाली भूमिमा नौला छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button