निःशुल्क क्यान्सर शिविरमा २० जनामा क्यान्सर पुष्टि, थप उपचारका लागि भरतपुर रेफर

तनहुँ — व्यास नगरपालिकामा दुई दिन सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ३२५ जनाको परीक्षण गर्दा २० जनामा क्यान्सर देखिएको छ।
नेपाल रेडक्रस सोसाइटी श्याम्घा उपशाखाको आयोजनामा वैशाख १६ र १७ गते सञ्चालित शिविरमा पाठेघरको मुख, स्तन तथा सुर्तीजन्य पदार्थबाट हुने नाक, कान, मुख र घाँटीको क्यान्सर परीक्षण गरिएको थियो। शिविरकी डा. अस्मिता राणाका अनुसार स्तन क्यान्सर ८, पाठेघरको मुखको क्यान्सर ६ र नाक–कान–घाँटीसम्बन्धी क्यान्सर ६ जनामा देखिएको छ। ‘उहाँहरूलाई थप उपचारका लागि भरतपुर क्यान्सर अस्पताल पठाइएको छ,’ उनले भनिन्।
व्यास नगरपालिकाको आर्थिक सहयोग, बीपी कोइराला क्यान्सर अस्पतालको प्राविधिक सहयोग र रेडक्रस जिल्ला शाखाको समन्वयमा शिविर भएको हो। उपशाखा सभापति प्रमोद न्यौपानेले तनहुँ, कास्की र लमजुङका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको बताए। ‘दश वर्षपछि लाग्ने रोग आजकै परीक्षणबाट थाहा हुने भएकाले शिविर निकै फलदायी भएको छ,’ उनले भने।





