पोखरामा पहिलो महिला गोल्डकप : रेखाको ५ गोलमा पुलिस फाइनलमा

पोखरा — पर्यटकीय राजधानी पोखरामा शुक्रबारदेखि पहिलो महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ। पोखरामा महिला फुटबलको यो पहिलो प्रतियोगिता हो। आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरा रङ्गशालामा भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजकलाई ८–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।
पुलिसको जितमा राष्ट्रिय महिला टोलीकी स्ट्राइकर रेखा पौडेलले सर्वाधिक ५ गोल गरिन्। निर्मला विक र साहारा लिम्बूले एक–एक गोल थपे। खेलको पाँचौं मिनेटमै रेखाको क्रसमा पुलिसले अग्रता लिएको थियो। दसौं मिनेटमा उनकै पासमा निर्मलाले गोल गर्दै अग्रता दोब्बर पारिन्। रेखाले २७औं, ३५औं र ३७औं मिनेटमा गोल गर्दै पहिलो हाफमै ह्याट्रिकसहित ५–० को स्थिति बनाइन्। दोस्रो हाफमा साहारा (५०औं) र रेखा (६०औं) ले थप गोल गरे। खेलको अन्तिम गोल भने आयोजकले उपहारस्वरूप दिएको थियो। उत्कृष्ट प्रदर्शन गरेकी रेखा ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।
प्रतियोगितामा आयोजक आरएस र पुलिससहित त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लब गरी चार टोली सहभागी छन्। शनिबार आर्मी र सङ्कटाबीच दोस्रो सेमिफाइनल हुनेछ। वैशाख २० गते हुने फाइनलको विजेताले ५ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले ३ लाख प्राप्त गर्ने आयोजकले जनाएको छ। उत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले समान १५–१५ हजार तथा अनुशासित टोलीले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ।





