खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप हुने

नेपालगन्ज — बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता २०८३ हुने भएको छ। श्री दि फेमस महिन्द्र दल गण भूपू र न्यू डाँफे स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा खजुराको मिनी रङ्गशालामा वैशाख २७ गतेदेखि सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।

२० वर्ष उमेरसम्मका खेलाडी सहभागी हुन पाउने यस प्रतियोगितामा जिल्ला र पालिकामा दर्ता भएका १२ टोलीले भाग लिने न्यू डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष बालराम खत्रीले जानकारी दिए। नेपाली सेनामा कार्यरत फुटबल खेलाडी अशोक विकको स्मृतिमा हुन लागेको प्रतियोगिताको विजेताले ५१ हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने महिन्द्र दल गण भूपूका कोषाध्यक्ष बलबहादुर खड्काले बताए।
प्रतियोगिता नकआउट प्रक्रियामा सञ्चालन हुने र अल राउन्ड उत्कृष्ट खेलाडीलाई हिरो साइकल प्रदान गरिने आयोजकले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। अन्य विधागत उत्कृष्ट खेलाडीलाई जनही २५०० रुपैयाँ तथा हरेक दिनको उत्कृष्ट खेलाडीलाई १००० रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जनाइएको छ। प्रतियोगिताको प्रथम पुरस्कार राशि महिन्द्र दल गण भूपूले र दोस्रो पुरस्कार राशि स्वर्गीय अशोकका भाइ हरिप्रकाश विकले बेहोर्ने बताइएको छ।





