सङ्कटालाई हराउँदै आर्मी पोखरा गोल्डकपको फाइनलमा, उपाधिका लागि पुलिससँग भिडन्त

पोखरा — पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ। आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरा रङ्गशालामा भइरहेको प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा आर्मीले सङ्कटा क्लबलाई ४–२ गोलले पराजित ग¥यो।
पहिलो हाफको अन्तिमतिर आर्मीकी दीपा शाहीले तुलसा बोहोराको पासमा गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाइन्। दोस्रो हाफ सुरु भएको दुई मिनेटमै चन्द्रा भण्डारीले गोल गर्दै अग्रता दोब्बर पारिन्। ५५औं मिनेटमा चन्द्राले व्यक्तिगत दोस्रो गोल गर्दा आर्मी ३–० ले अगाडि भयो। तर, सङ्कटाले ७०औं मिनेटमा क्वीनबेल एअमनाराह र ७२औं मिनेटमा लिसिया एलजे मोकाम्बिकको फ्रिकिक गोलबाट खेल ३–२ को रोमाञ्चक अवस्थामा पुर्यायो। निर्धारित ९० मिनेटपछि थपिएको आठ मिनेटमा आर्मीकी हिमा चौधरीले गोल गर्दै टोलीको ४–२ को जित सुनिश्चित गरिन्।
यो जितसँगै आर्मीले आइतबार हुने फाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ। यसअघि पुलिसले आयोजक आरएस पोखरालाई ८–० ले हराउँदै फाइनलमा स्थान बनाएको थियो। प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले ३ लाख, उत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले समान १५–१५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
#पोखरागोल्डकप #आर्मी #फाइनल





