३० बैशाख २०८३, बुधबार

पलायन, आधुनिकता र अभावले मुगुमा रैथाने गाई सङ्कटमा, कृषक सङ्ख्या तीव्र रूपमा घट्दो

मुगु — मुगु जिल्लामा गाई पाल्ने कृषकको सङ्ख्या उल्लेख्य रूपमा घट्दै जाँदा रैथाने (स्थानीय) गाईको अस्तित्व सङ्कटमा पर्दै गएको छ। परम्परागत रूपमा घरघरमा पालिँदै आएका यी गाई आधुनिक प्रवृत्ति, श्रमशक्ति अभाव र बदलिँदो जीवनशैलीका कारण विस्तारै हराउँदै गएका हुन्।

पहिले गाउँघरमा हरेकजसो परिवारले दूध, घ्यू र मलका लागि रैथाने गाई पाल्ने चलन थियो। तर, पछिल्लो समय बजारमा आयातित दुग्धजन्य वस्तुको प्रयोग बढेसँगै स्थानीय उत्पादनप्रति निर्भरता घट्दै गएको छ। केही किसानले बढी उत्पादनको आशामा उन्नत जातका जर्सी गाई पाल्न थाले पनि दुर्गम क्षेत्रमा आवश्यक आहार, हेरचाह र पशु स्वास्थ्य सेवाको अभावका कारण अपेक्षित लाभ लिन नसकेको गुनासो गरेका छन्। ‘जर्सी जातका गाई पाल्दा खर्च धेरै भयो, उत्पादन भने सोचेजस्तो भएन,’ छायाँनाथ रारा–१ का कृषक अदानसिंह शाहीले भने।

गाउँबाट युवा तथा सक्रिय श्रमशक्ति विदेश तथा सहरतर्फ पलायन हुने क्रम बढेसँगै गाईबस्तु पाल्ने जनशक्ति घट्दै गएको छ। गोठालो प्रथा कमजोर बन्दै जाँदा रैथाने गाई संरक्षणमा थप चुनौती देखिएको छ। यस्तै, घाँसपातको अभाव, चरन क्षेत्रको कमी र दूध उत्पादनमा कमी पनि प्रमुख समस्या बनेको छ। वन क्षेत्रमा पहुँचको कडाइ र बदलिँदो कृषि प्रणालीका कारण पशुका लागि आवश्यक आहार जुटाउन कठिन भएको किसान बताउँछन्। शिक्षा विस्तारसँगै बालबालिका विद्यालय जान थालेपछि गाई चराउने परम्परा पनि हराउँदै गएको छ।

कृषि तथा पशु विज्ञहरूका अनुसार रैथाने गाई स्थानीय वातावरणअनुकूल, रोग प्रतिरोधी र कम लागतमा पालन गर्न सकिने महत्त्वपूर्ण जैविक स्रोत हुन्। तर, यिनको संरक्षणका लागि प्रभावकारी नीति, अनुदान, बीमा तथा बजार व्यवस्थापनको अभाव छ। स्थानीय सरोकारवालाले रैथाने गाई संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन, किसानलाई प्रोत्साहन तथा चरन क्षेत्र व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।

#रैथानेगाई #मुगु #कृषिसङ्कट

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button